काठमाडौं– पछिल्लो सात महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेका छन्। चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५.६२ प्रतिशत कर्जा विस्तार गरेका हुन् ।
बैंकहरुको मुख्य बिजनेस नै कर्जा विस्तार हो। लगानीयोग्य रकम पर्याप्त रहेको यो बेला कर्जा विस्तार गर्न सफल भएका बैंकहरूको वित्तीय विवरणमा समेत सकारात्मक प्रभाव देखिन जानेछ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार मसान्तसम्म २० वाणिज्य बैंकहरूले कुल ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। तर माघ मसान्तसम्म आउँदा २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ। माघ मसान्तसम्म कुल कर्जा रकम ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको सात महिनामा बैंकहरूमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह उच्च देखिन्छ। सोही अवधिमा निक्षेप संकलन जम्मा ४.२१ प्रतिशत मात्रै बढेको छ।
असार मसान्तसम्म कुल निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब ७७ करोड रहेकोमा माघ मसान्तसम्म आउँदा २ खर्ब ४२ अर्ब २८ करोड बढेको छ। माघ मसान्तसम्म कुल निक्षेप संकलन ५९ खर्ब ९७ अर्ब ५ करोड पुगेको छ।
पछिल्लो समय कर्जा विस्तार बढ्न थालेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘बैंकमा कर्जाको माग पनि बढेको छ, सोअनुसार प्रवाह पनि भइरहेको छ’ उनले भने। आगामी एक वर्ष पर्याप्त कर्जा जाने संकेत देखिएको उनले बताए। ‘कर्जा प्रवाह बढेका कारण आन्तरिक अर्थतन्त्र पनि चलायन हुन खोजेको देखिन्छ’ उनले भने।
![]()
बिजनेस बढाउनेमा ग्लोबल अगाडि, गुमाउनेमा एनआईसी एसिया
कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। सात महिनामा यो बैंकले ४० अर्ब रुपैयाँ कर्जा बढाएको छ। धेरै कर्जा प्रवाह गर्नेमा पनि यो बैंक पहिलो स्थानमा छ।
माघ मसान्तसम्म बैंकको कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप संकलनका आधारमा भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि देखिएको छ। ७ महिनामै सो बैंकको निक्षेप संकलन ४० अर्ब बढेको छ।
एनआईसी एसिया बैंकको भने निक्षेप र कर्जा दुवै उल्लेख्य घटेको छ। सात महिनामा सो बैंकको निक्षेप ५८ अर्ब २२ करोड घटेको छ भने कर्जा प्रवाह ३२ अर्ब ८८ करोड घटेको छ।
स्रोत नेपाल बैंकर्स संघ
![]()