मस्कले रोक्यो नेपालले पाउने झण्डै ४ करोड डलर - Chaitanya News
  • 2026-06-30
  • 22:04:54
  • मंगलबार,आषाढ १६, २०८३
  • मस्कले रोक्यो नेपालले पाउने झण्डै ४ करोड डलर

    मस्कले रोक्यो नेपालले पाउने झण्डै ४ करोड डलर

    काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कडाइका साथ बजेट कटौतीमा काम गरिरहेको छ। यस सम्बन्धमा, अमेरिकाले नेपाल, भारत बंगलादेशलगायत कयौँ देशलाई दिँदै आएको फन्डिङमा रोक लगाएको छ।

    वित्तीय संघीयताको नाममा अमेरिकाले नेपाललाई २ करोड डलर दिइरहेको थियो। माइक्रो ब्लगिङ वेबसाइट एक्समा खर्बपति व्यापारी एलन मस्कको सरकारी दक्षता विभाग (डज) ले आइतबार गरेको एउटा पोष्टका अनुसार यो रकम रोकिएको छ। यसबाहेक, जैविक विविधता संरक्षण प्रयासका लागि नेपाललाई दिँदै आएको १ करोड ९० लाख डलर पनि बन्द गरेको पोष्टमा उल्लेख छ। पोष्टमा डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ।

    ट्रम्पले सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका थिए। यो विभागको काम अमेरिकी सरकारको खर्च कटौती हो। ट्रम्पले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका मालिक मस्कलाई यस विभागको प्रमुख बनाएका छन्। मस्कले यतिबेला विश्वभरि हुने हरेक अमेरिकी खर्च गम्भीरतापूर्वक जाँचिरहेका छन्। सरकारको नीति अनुसार यसबारे निर्णय लिइरहेका उनले बताएका छन्। अमेरिकी करदाताको पैसा खर्च भइरहेका कुरा खारेज गरिएको मस्कले एउटा पोष्टमा सूचि लेखेका छन्। यसलाई उनले अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको अंश भनेका छन्।

    यस्तै डजको यो निर्णयले भारतको चुनावी प्रक्रिया र राजनीतिक स्थिरता सुधार गर्ने उद्देश्यले गरिएका प्रमुख प्रयासहरूलाई असर गर्ने बताइएको छ। बजेट कटौती नगरे अमेरिका टाट पल्टिने मस्कले बारम्बार भन्दै आएका छन्। मस्कको पछिल्लो निर्णयले भारतलाई दिइने सहयोगमा ठुलो कटौती हुनेछ। अमेरिकाले भारतको चुनावमा मतदाता सहभागिता बढाउन २ करोड १० लाख डलर (१ अर्ब ८२ करोड भारु) दिँदै आएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रमपसँग भेटेको केही दिन पछि यो निर्णय आएको हो।

    यस भेटघाटमा दुवै नेताले अमेरिका–भारत सम्बन्धलाई सुदृढ पार्न महत्त्वपूर्ण घोषणाहरू गरेका थिए। मस्कको यस निर्णयले नेपाल पनि प्रभावित भएको छ। बंगलादेशलाई ठुलो धक्का लागेको छ। मस्कले बंगलादेश र नेपालले पाउँदै आएको ठुलो सहयोग रोकेका छन्। अमेरिकी सरकारले बंगलादेशमा राजनीतिक स्थिरता प्रवर्द्धन र लोकतान्त्रिक शासन सुदृढ गर्न २ करोड ९० लाख डलर सहायता दिँदै आएको थियो। एजेन्सी