काठमाडौं– मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ। सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो।
सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ। त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राप्रपा ७, जसपा ७, लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन्। संसद्मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ।
समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ। समानुपातिकतर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ। सोमबार बिहानसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ। त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३,जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ मत ल्याएको छ।
जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ ३६२ मत ल्याए पनि थ्रेस होल्ड कटाएको छैन। दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा समानुपातिकतर्फका छुट्टै सांसद निर्वाचित हुन्छन्।