काठमाडौँ– पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सांसदहरुले माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव दिँदै नेपाल विद्युत् प्राधिकरणको शेयर वितरण गर्नेदेखि सकल, भूमिहीन सुकुम्वासी, जातीय भेदभाव, तटबन्ध आदि विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले दैलेखमा जारी पेट्रोलियम पदार्थको अन्वेषणको दोस्रो चरणको काम सुरु भएको र तेस्रो चरणको कामलाई सरकारले तीव्रताका साथ अगाडि बढाउन माग गरे। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ काम भइरहेको छ। उनले अन्तरजातीय विवाहलाई निरुत्साहित होइन प्रोत्साहनको वातावरण बनाउन कानुनी व्यवस्था गर्न माग गरे।
यस्तै नेकपा ९एमाले० का सांसद अमरबहादुर रायमाझी उदयपुरको कटारी नगरपालिका– १४ घुर्मीस्थित सुनकोशी खानेपानी आयोजना गत असोजको बाडीबाट मुहान र पाइपलाइन ध्वस्त भएको जनाउँदै नगरपालिकाका अन्य स्थानमा पनि बाढीले अलपत्र पारेका आयोजनाको चाँडो निर्माण सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सोही पार्टीका अमृतादेवी अग्रहरिले सीमा नाकामा साना व्यापारीमाथि राजस्व विभागका कर्मचारीले अन्याय गरिरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
सांसद आश्माकुमारी चौधरीले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बागमती नदीबाट सर्लाहीको बरहथवा नगरपालिकाका १, २ र ३ तथा १३, १४ र १५ वडा हरेक वर्ष कटानले नागरिकलाई घरबारविहीन बनाएको भन्दै नदीकटान रोक्ने दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।