अघिल्लो सरकारले बोकाएको दायित्व भुक्तानी गरिसक्यौँ : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-06-30
  • 16:44:15
  • मंगलबार,आषाढ १६, २०८३
  • अघिल्लो सरकारले बोकाएको दायित्व भुक्तानी गरिसक्यौँ : अर्थमन्त्री पौडेल

    अघिल्लो सरकारले बोकाएको दायित्व भुक्तानी गरिसक्यौँ : अर्थमन्त्री पौडेल

    काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले बोकाएको दायित्व भुक्तानी गरिसकेको बताएका छन् । आज (आइतबार) महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएका कारण केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढीको बताएका हुन्।

    यस्तै अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले बोकाएको भुक्तानी दायित्व व्यहोरिसकेकाले अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल भुक्तानी नरोकिने बताए।

    पौडेलले भने, ‘केही समय हामीलाई अप्ठेरो भएकै हो तर कानूनसम्मत तरिकाले दाबी गरिएको रकमको भुक्तानी हुँदै आएको छ। अघिल्लो वर्षको भुक्तानी सकेर हामी अघि बढेका छौँ। कसैले बिल बमोजिमको भुक्तानी माग्छ भने दिन सक्ने अवस्थामा पुगेका छौँ। बिल पेश गरेपछि भ्याट बुझाउनुपर्छ तर भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने अब पर्दैन। सरकारले गत वर्षको दायित्व समेत भुक्तानी गरेर निर्माण व्यवसायीले दाबी गरेको भुक्तानी दिने अवस्था सिर्जना गरेको छ।

    उपप्रधानमन्त्री पौडेलले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र लगानीको वातावरणलाई सहज बनाउनकै लागि सरकारले आर्थिक अध्यादेशमार्फत कानूनहरुमा संशोधन गरेको बताएका छन्।