अमेरिकी टेक कम्पनीको टाउको दुखाइ बनेको ‘डिपसिक’ के हो ? - Chaitanya News
  • 2026-11-15
  • 17:41:47
  • आइतबार,कार्तिक ३०, २०८३
  • अमेरिकी टेक कम्पनीको टाउको दुखाइ बनेको ‘डिपसिक’ के हो ?

    अमेरिकी टेक कम्पनीको टाउको दुखाइ बनेको ‘डिपसिक’ के हो ?

    वासिङ्टन डिसी– चिनियाँ कम्पनी डिपसिकले बनाएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) च्याटबट एप्पल स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एप्लिकेसन बनेको छ। यो जनवरी महिनामा मात्र अमेरिकामा रिलिज गरिएको थियो।

    यो डिपसिक एपको अप्रत्याशित लोकप्रियता र अमेरिकामा आधारित एआई कम्पनीहरूको तुलनामा यसको न्यून लागतले आर्थिक बजारलाई नै अस्तव्यस्त बनाएको छ। सिलिकन भ्यालीका भेन्चर क्यापटलिस्ट मार्क एन्ड्रेसनले डिपसिकलाई एआईको दुनियाँमा ‘एक अद्भुत र प्रभावशाली सफलताहरू मध्ये एक’ भनेका छन्।

    कम्पनीले आफ्नो नवीनतम एआई मोडलहरू च्याटजीपीटी जस्ता अमेरिकाको शीर्ष मोडलहरूको बराबर रहेको र यसको लागत उनीहरूको तुलनामा एक चौथाईमात्र रहेको बताएको छ। यस एपका शोधकर्ताहरूले यसलाई निर्माण गर्न करिब ६० लाख अमेरिकी डलर लागेको बताएका छन् जुन अमेरिकाका एआई कम्पनीहरूले खर्च गरेको अर्बौँ डलरभन्दा निकै कम हो।

    के हो डिपसिक ?
    डिपसिक एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो। यसको स्थापना चीनको दक्षिणपूर्वी सहर हाङझाउमा गरिएको हो। यो कम्पनी सन् २०२३ को जुलाईमा नै लञ्च गरिएको भए पनि यसको चर्चित एआई एसिस्टेन्ट एप भने अमेरिकामा १० जनवरीमा मात्र रिलिज गरिएको सेन्सर टावरले जनाएको छ।

    यसको संस्थापक लियाङ वेनफेङ हुन्। उनले स्थापना गरेको हेज फन्डबाट यसका लागि स्रोत जुटाएका थिए।

    ४० वर्षीय वेनफेङ इन्फरर्मेसन एन्ड इलेक्ट्रोनिक इन्जिनियरिङ ग्राजुएट हुन्। उनले कथित रूपमा एनभिडिया ए१०० चिप्सको स्टोर स्थापना गरेका थिए, जुन अहिले चीनमा आयत गर्न प्रतिबन्धित छ।

    विज्ञहरूका अनुसार उनीसँग रहेका करिब ५० हजार यस्ता चिप्सले नै उनलाई डिपसिक स्थापना गर्न प्रेरित गरेको थियो। उनले आफूसँग भएका ती चिप्सहरूलाई आयात गर्न अनुमति भएका अन्य सस्ता चिपहरूसँग मिश्रण गरेका थिए। वेनफेङलाई हालै चिनियाँ प्रधानमन्त्री ली छ्याङ र उद्योगका अन्य विज्ञहरूसँग भेटघाट गरिरहेको देखिएको थियो।

    के हो यो एप ?
    कम्पनीको एआई एपलाई एप्पलको एप स्टोर र कम्पनीको वेबसाइटबाट डाउनलोडका लागि उपलब्ध छ। निःशुल्क रहेको यो सेवा एप स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनिसकेको छ। यो अमेरिकामा सबैभन्दा धेरै रेटिङ भएको निःशुल्क एप पनि बनेको छ।

    डिपसिक यसको शक्तिशाली एआई एसिस्टेन्टका लागि लोकप्रिय बनिरहेको छ। यसले च्याटजीपीटी जस्तै काम गर्छ। एप स्टोरमा उपलब्ध यसको विवरणमा यसलाई ‘तपाईँको प्रश्नको उत्तर दिन र तपाईँको जीवनलाई कुशलतापूर्वक बढाउन’ डिजाइन गरिएको बताइएको छ।

    कसरी अमेरिकी कम्पनीको टाउको दुखाइ बन्यो ?
    डिपसिक कथितरुपमा अमेरिकी प्रतिद्वन्द्वीहरूको तुलनामा करोडौँ डलर कम लागतमा तयार गरिएको छ। यसले एआई क्षेत्रमा अमेरिकाको प्रभुत्वमाथि नै प्रश्न चिन्ह खडा गरेको छ।

    कम्पनीको सम्भावित न्यून लागतले २७ जनवरीमा वित्तीय बजारलाई चकित पारेको थियो। जसले गर्दा स्टक एक्सचेन्ज ‘नास्डाक’ ३ प्रतिशतले घटेको थियो, यसमा चिप निर्माता र विश्वभरका डाटा सेन्टरहरू समावेश छन्।

    एआई सञ्चालन गर्ने शक्तिशाली चिप निर्माण गर्ने अमेरिकामा आधारित कम्पनी एनभिडिया सबैभन्दा धेरै प्रभावित बनेको थियो। सोमबार कम्पनीले ६ खर्ब डलर बजार मूल्य गुमाएको थियो। अमेरिकाको इतिहासमा कुनै पनि कम्पनीले एकै दिन यति धेरै बजार मूल्य गुमाएको यो पहिलो अवसर थियो। यसको सेयर मूल्य पनि सो दिन १७ प्रतिशत भन्दा बढीले घटेको थियो।

    बजार पुँजीकरणको आधारमा एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी हो। तर, सोमबारपछि यो एप्पल र माइक्रोसफ्टपछि तेस्रो स्थानमा खस्कियो। फोर्ब्सका अनुसार सो दिन कम्पनीको मूल्य ३.५ ट्रिलियन डलरबाट घटेर २.९ ट्रिलियन डलरमा पुगेको थियो।

    डिपसिकले एनभिडियाले बनाएको भन्दा कम उन्नत सेमिकन्डक्टर चिप्स प्रयोग गर्दछ। कम्पनीको सफलताले ठुलो बजेट र उच्च स्तरीय चिप एआईलाई अगाडि बढाउन सक्ने एक मात्र तरिका हो भन्ने विश्वासलाई नै चुनौती दिएको छ। यसले उच्च स्तरीय चिपको आवश्यकता र भविष्यबारेमा ठुलो अनिश्चितता सिर्जना गरेको छ।

    सोमबार मियामीमा रिपलब्लिकन कंग्रेसनल रिट्रीटमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिपसिक अमेरिकी टेक फर्महरूका लागि ‘जागरणको घण्टी’ हुनुपर्ने भनेर चेतावनी दिएका थिए। एजेन्सी– बीबीसी