पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सहज बनाइने बताएका छन्।
आज (सोमबार) सञ्चारकर्मीहरुसँग कुराकानी उनले यस्तो बताएका हुन् । यस्तै उनले सबै नागरिकको हातमा परिचयपत्र पुगाउन सरकार प्रतिबद्ध रहेको बताए। ‘परिचयपत्र वितरणमा ढिलाइ भएको गुनासो आएको छ’ उनले भने, ‘गुनासोलाई सम्बोधन गर्ने गरी सकारले काम अघि बढाएको छ।’
नेपाल सरकारका प्रवक्ता समेत रहेका उनले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयमा परिचयपत्र वितरणलाई सहज बनाइने बताए। नेपाली नागरिकताको प्रमाणपत्रको कमीकमजोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाइएको उनको भनाइ छ।
मन्त्री गुरुङले करिब दुई वर्षअघि कास्की जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागि विवरण भरेका थिए। अन्तर्राष्ट्रिय मापदण्डको डिजिटल कार्डको रूपमा प्रयोग गर्न सकिने परिचयपत्र बाहकको दश औँठा छाप अंकीत व्यक्तिको पहिचान समेटिएको हुन्छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कास्कीमा परिचयपत्र वितरणका लागि अभियान चलाइएको बताए। उनका अनुसार ४ वटा गाउँपालिकामा अभियान सकिएर अहिले पोखरा महानगरपालिकामा अभियान चलिरहेको छ। पोखरा महानगरका १ देखि १२ वटा वडामा अभियान सकिएको छ भने अन्य वडामा जारी छ। कास्कीमा अहिलेसम्म २ लाख ७ सय १६ वटा राष्ट्रिय परिचयपत्रको कार्ड प्राप्त भएको छ। पाण्डेका अनुसार ७५ हजार ७ सय १८ वटा कार्ड वितरण भएका छन्।
कास्की जिल्ला प्रशासन कार्यालयमा तीन ठाउँमा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था मिलाइएको छ। एक ठाउँ थपेर ४ ठाउँबाट सेवा दिने योजना रहेको पाण्डेले बताए। पाण्डेले पालिकाबाट नै परिचयपत्रको विवरण भर्ने र कार्ड वितरण गर्ने व्यवस्था मिलाउँदा जनतालाई सहज हुने बताए।
सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेको छ। सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा छन्। राजस्वसम्बन्धी ९व्यक्तिगत आयकर दर्ता० सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत सरकारले अब राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।