स्याङ्जा क्षेत्र नम्बर २ मा पराजित भएपछि पद्‍मा अर्यालले भनिन : मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएकोले पराजित हुनुपर्यो - Chaitanya News
  • 2026-04-25
  • 04:22:16
  • शुक्रबार,बैशाख ११, २०८३
  • स्याङ्जा क्षेत्र नम्बर २ मा पराजित भएपछि पद्‍मा अर्यालले भनिन : मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएकोले पराजित हुनुपर्यो

    स्याङ्जा क्षेत्र नम्बर २ मा पराजित भएपछि पद्‍मा अर्यालले भनिन : मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएकोले पराजित  हुनुपर्यो

    काठमाडौं– नेकपा एमालेकी सचिव एवम् स्याङ्जा क्षेत्र नम्बर २ की उम्मेदवार पद्‍मा कुमारी अर्यालले बुथ कब्जा गरी खसालिएको मतलाइ स्वीकार नगर्ने बताएकी छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो क्षेत्रमा मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएकोले पराजित हुनुपरेको बताएकी हुन्। प्रतिस्पर्धी उम्मेदवार धनराज गुरुङलाई बधाई दिँदै उनले लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय भएको बताएकी छन्।

    श्री धनराज गुरुङ जी, स्याङ्जा २ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा तपाईंको उपस्थिति हुँदैगर्दा तपाईंलाई हार्दिक बधाई छ।’ अर्यालले भनेकी छन्, ‘म र म आबद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो। स्याङ्जा– २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं। साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो। हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं। त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं। किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन। हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन।’

    अर्यालले गुरुङलाई आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरित नहोस् भन्ने सुझाव दिएकी छन्। अर्यालले गुरुङलाई आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न युवालाई नलगाउन आग्रह गरेकी छन्। ‘युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्‍याउन सक्नुहोस, न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस्। ’अर्यालले लेखेकी छन्, ‘मैले तपाईंलाई सालीन एवम् लोकतन्त्रमाथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ। निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणित गरिदियो। स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्। ’

    उनले राजनीति पेसा होइन सेवा भएकाले निरन्तर जनताको बीचमा हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा एमालेकी अर्यालले २५ हजार ८३९ मत पाएकी छन्।