६ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च १४.८२ प्रतिशत मात्रै - Chaitanya News
  • 2026-06-30
  • 14:06:26
  • मंगलबार,आषाढ १६, २०८३
  • ६ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च १४.८२ प्रतिशत मात्रै

    ६ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च १४.८२ प्रतिशत मात्रै

    धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ६ महिनाको अवधिमा जम्मा १४.८२ प्रतिशत मात्रै रहेको छ ।

    प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीका प्रमुख वासुदेव जोशीका अनुसार आर्थिक वर्ष २०८१–०८२ को कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट रहेकोमा हालसम्म १४.८२ अर्थात् ४ अर्ब ६८ करोड ७० लाख ५ हजार मात्रै खर्च हुन सकेको छ।

    प्रदेश सरकारले चालुतर्फको १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार बजेट रहेकोमा २ अर्ब ८१ करोड ५८ लाख ५२ हजार अर्थात् २१.९० प्रतिशत मात्रै खर्च गरेको छ।

    यस्तै पुँजीगत खर्च १ अर्ब ८७ करोड ११ लाख अर्थात् ९.९८ प्रतिशत मात्रै खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

    चालू आवको लागि साउन १ गते प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले बजेट ल्याएको थियो। तर, प्रदेश सभाबाट बजेट पास हुन नसक्दा झन्डै दुई महिना बजेट शून्यताको अवस्था सिर्जना भएको थियो। पछि सरकारमा भएको फेरबदलपछि बनेको मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट गत असोज ६ गते पारित भयो। जुन निकै ढिलो आएको बजेटको खर्च स्थिति सुस्त रहेको हो।

    प्रदेश सरकारको मन्त्रालयगत रूपमा खर्च स्थिति हेर्ने हो भने चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ। पौष मसान्तसम्म १ अर्ब ७४ करोड २ लाख ३५ हजार खर्च गरेको छ।

    त्यस्तै, २ अर्ब ९० करोड ३७ लाख ४३ हजार पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले ६ महिनाको अवधिमा ६ करोड ३० लाख मात्रै खर्च गर्न सकेको छ।

    ८८ करोड ५० लाख ६१ हजार पुँजीगत बजेट रहेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १ करोड ९४ लाख ३४ हजार मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ।