लोकसेवा तयारी गरेर निजामति सेवामा प्रवेश गर्ने सबैको चाहाना हुन्छ । पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढीरहेको छ । लोकसेवामा निष्पक्ष प्रतिस्पर्धा हुने भएकाले होला दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परिक्षार्थीहरु परिक्षामा सामिल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परिक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परिक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परिक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परिक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरै शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत प्रकाश गौतमसँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामति सेवामा नाम निकाल्न सपल हुनुभएको छ कस्तो महसुस भइरहेको छ ?
मेरो सपना हो शाखा अधिकृत बन्ने त्यसैले सपनाको एउटा खुट्किलो पार गर्न सकेकोमा म अत्यन्तै खुसी छु ।
2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
पहिला सपना देखें अधिकृत बन्नुपर्छ भनेर अनि त्यसको निरन्तर मेहनत, अध्ययन, खोज, अनुसन्धान गर्दै गए, अर्को कुरा समय व्वस्थापनमा ध्यान दिएँ । पढ्दा मैले आधिकारिक पुस्तकहरू बढी पढ्ने गर्थेँ। ऐन, नियमावली, कार्यविधि, योजना लगायतका विषयहरू वास्तविक स्रोतबाट नै पढ्ने गर्दथेँ। पढ्दा महत्वपूर्ण लागेका विषयहरूको टिपोट गर्ने र त्यसलाई कुन उत्तरमा राख्न सकिन्छ भनेर सोच्ने गर्थेँ। अघिल्ला वर्षहरूमा सोधेका प्रश्नहरूको खोजी गर्ने र समाधान गर्ने गर्दै आफ्नो पढाईलाई अघि बढाएको थिएँ।
3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु हुन्थ्यो ?
म निजामति सेवामा कार्यरत भएकोले पनि कार्यालयमा काम गर्ने समय र अध्यनको समय व्यवस्थापन गर्नु एउटा चुनौती थियो, तथापि कामबाट बचेको समय र अन्य समय कुनै न कुनै रुपमा अध्ययनकै लागि छुट्याउथेँ अधिकतम समय अध्ययनमै विताउने गर्दथेँ ।
4. लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
खासमा लोकसेवाको तयारी आफैँले नै गर्ने हो तर, सुरुवातमा विषयवस्तुको ज्ञान र पढाईको तरिका थाहा पाउन तयारी कक्षाको महत्वपूर्ण भूमिका हुन्छ। स्पष्ट नभएका टपिकहरु क्लासबाट क्लियर हुन सकिन्छ, क्लासले तयारीको लागि दिशानिर्देश गर्छ, थप उत्प्रेरणा समेत प्राप्त हुन्छ, लोकसेवा तयारी गर्ने धेरै साथिहरुको अपिस हुने भएकाले लोकसेवा तयारीका क्लासहरु लिन भ्याउदैनन् तर, सम्भव भएसम्म आफ्नो पढाईको स्तर र ज्ञान व्यवस्थापनका लागि तयारी कक्षाका परिक्षाहरू, विज्ञ सरहरूका अनुभवहरू, साथीहरूका कुराहरूले महत्वपूर्ण भूमिका खेल्छन्। पुस्तक त तयारीको प्रमुख अति आवश्यक सामाग्रि हो । परिक्षा लक्षित कतिपय पुस्तकहरू राम्रा पनि छन् कतिपय पुस्तकहरू भने स्तरीय नहुन पनि सक्छन्। पाठ्यक्रमलाई आधार मानि लेखिएमा कतिपय पुस्तकहरूको गुणस्तर भने आफैँले परीक्षण गर्नुपर्छ। गुणस्तरीय पुस्तकहरू तयारीका लागि महत्वपुर्ण हुन्छन्।
5. अध्ययन गर्दा कस्ता खाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाले कस्ता सामाग्रीलाई प्राथमिकता दिनुहुन्थ्यो ?
अध्ययन गर्दा आधिकारीक पुस्तक छनौट गर्नुपर्ने हुन्छ र सम्बन्धित निकायबाट प्रकाशित आधिकारिक रिपोर्टहरु अध्ययन गर्नु आवश्यक हुन्छ । मैले पनि यहि आधारमा अध्ययन गरेको थिएँ । विभिन्न मन्त्रालयका वेभसाईटहरू संवैधानिक आयोग तथा अन्य विषयसँग सम्बन्धित आयोगका वेभसाइटहरू, विज्ञका लेखहरू र पत्रपत्रिकामा आएका समाचार र विचारहरू हेर्ने गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, विश्वव्यापी मूल्य मान्यता लगायतका विषयहरू हेर्नुपर्छ ।
6. अहिले लोकसेवा प्रति युवाको आकर्षण कस्तो देख्नु हुन्छ ?
अहिले नेपालमा भविष्य खोज्ने धेरै जसो युवाको आकर्षण नै लोकसेवा हो । पछिल्लो समय लोकसेवाप्रति युवाको आकर्षण बढिरहेको छ। स्थायित्व, सुरक्षा, वृत्ति विकास, सेवाभाव जस्ता कुराहरूले यस क्षेत्रमा आकर्षण देखिएको हो भन्ने मलाई लाग्छ। अझ महत्वपूर्ण कुरा त यसको छनौट प्रक्रियाको निश्पक्षता हो। लोकसेवाको परिक्षा पास गर्ने मान्छेलाई मेहनत गर्ने मान्छेका रूपमा समाजले चिन्ने हुँदा पनि यसक्षेत्रमा आकर्षण बढेको हो।
7. अहिले लाखै युवाहरु विदेशीएका छन्, यहाँको मनमा विदेश जाने सोच आयो की आएन ?
मेरो मनमा विेदेश जाने सोँच कहिल्यै आएन, देशमै बसेर सेवा गर्ने सपना थियो त्यही अनुसार यहाँको उत्तम विकल्प लोकसेवालाई रोजेँ । र आज सोहीको प्रतिफल शाखा अधिकृतमा सिफारीस हुन सफल भएको छु
8. अन्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई कस्तो शन्देस दिन चाहानु हुन्छ ?
सपना देख्नुस मेहनत गर्नुस, निरन्तरता दिनुस, समयलाई राम्रो व्वस्थापन गर्नुस, सहि ढँगले पढ्नुहोस, कुनै क्षणको असफलाताबाट नआत्तिनुस, अवश्य सफल हुनुहनेछ। लोकसेवाको तयारी गरिरहँदा मनमा अनेक अन्यौलताहरू हुन्छन्। धेरै प्रकारका सोचहरू आउँछन् त्यसमा नकारात्मक सोच पनि पर्छ तर तयारीका चरणमा जहिले पनि सकारात्मक सोच राख्नुपर्छ। दिमागलाई शान्त राख्नुपर्छ। यसका लागि ध्यानको अभ्यास पनि गर्न सकिन्छ। मेहनत गर्न चैँ छोड्नुहुँदैन भन्ने भाव मनमा हुनुपर्छ। कतिपय मानिसहरूको हतोत्साहित भइहाल्ने बानी हुन्छ कतिपय अरूको कुरा सुनेर कठिन छ म सक्दिन होला भन्ने मानसिकता लिएर बस्ने पनि हुन्छन् कतिपय गफ बढि गर्ने र अरूलाई निराश बनाउनेहरू पनि हुन्छन्। यो मानवीय गुण हो यसलाई चिन्नुपर्छ र आफुलाई अविचलित बनाउनुपर्छ।लोकसेवामा अवश्य सफल भइन्छ ।