काठमाडौं– नेपालमा पछिल्लो समय सवारीसाधान आयात उच्चदरले वृद्धि भएको छ। यो वृद्धिदर हेर्दा नेपालको अटो व्यवसाय सुध्रिँदै गएको मान्न सकिन्छ।
हिजो (सोमबार) भन्सार विभागले जारी गरेको गाडी आयात तथ्यांक हेर्दा अटो व्यवसायमा उल्लेख्य सुधार भएको मान्नुपर्ने हुन्छ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा गत आव सोही अवधिको दाँजामो गाडी आयात ३२ प्रतिशतले बढेको छ।
चालु आव पहिलो ६ महिनामा ४७ अर्ब ९७ करोड रुपैयाँ बराबरको गाडी आयात भएको भन्सार विभागले जनाएको छ। गत आव पहिलो ६ महिनामा ३६ अर्ब ३२ करोड बराबरको मात्र गाडी आयात भएको थियो।
आव २०७९–८० मा गाडी आयात ५० प्रतिशतले घटेको थियो। त्यसअघि २०७८–७९ मा १ खर्ब २३ अर्बको आयात भएको थियो। २०७९–८० मा ६१ अर्ब ८० करोडको मात्रै आयात भएको थियो।
त्यसपछि गत आव २०८०–८१ मा त्यसअघिको वर्षका तुलनामा गाडी आयात केही बढ्यो। त्यो वर्ष अघिल्लो वर्षको तुलनामा गाडी आयात २६ प्रतिशतले बढेर ७८ अर्ब पुगेको थियो।
तर, २०७८७९ मा भएको १ खर्ब २३ अर्बको आयात पुग्न भने अझै पनि कठिन देखिन्छ।
कुल गाडी आयात बढ्दा विद्युतीय सवारीसाधन (ईभी) को पनि आयात बढेको भन्सारको तथ्यांकमा देखिन्छ। चालु आव पुस मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन्। गत आव सोही अवधिमा १२ अर्ब ७३ करोड ३२ लाख बराबर ईभी आयात भएको थियो।
ईभी आयात तुलनात्मक रूपमा गत वर्षभन्दा बढे पनि पेट्रोलियम इन्जिन गाडी आयात दर यो वर्ष धेरै बढेको देखिन्छ। चालु आव ६ महिनामा ३४ अर्ब ८७ करोड रुपैयाँ बराबर यस्ता गाडी आयात भएको छ। गत आव सोही अवधिमा भने पेट्रोलियम इन्जिन भएका गाडी २३ अर्ब ५९ करोडभन्दा बढीको आयात भएको थियो।
गत वर्ष पहिलो ६ महिनाको दाँजोमा गाडी आयात बढ्नुलाई अटो व्यवसायमा सुधारको सकरात्मक सन्देशका रूपमा लिएको नाडा अटो मोबाइल एसोसिएसनका उपाध्यक्ष राजनबाबु श्रेष्ठ बताउँछन्।
‘पेसेन्जर भेहिकल सेग्मेन्टमा पहिलेदेखि नै राम्रो भइरहेको छ। यसबीच पेट्रोलियम इन्जिन गाडी आयात पनि बढ्यो,’ उनले भने, ‘पछिल्लो समय माइक्रोबस आयात पनि बढेको छ। यसले अटो व्यवसायमा सुधारको सकारात्मक सन्देश दिएको छ।
उनले केही सुधार देखिए पनि व्यवसायिक सवारीसाधनमा भने सुधार हुन नसकेको बताए। ‘सवारी आयातको कुरा गर्दा कमर्सियल भेहिकलमा सुधार भएको छैन। त्यो चाहिँ बाँकी छ,’ उनले भने।