बैंकबाट कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-06-30
  • 12:31:55
  • मंगलबार,आषाढ १६, २०८३
  • बैंकबाट कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री पौडेल

    बैंकबाट कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषय : अर्थमन्त्री पौडेल

    काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षित रूपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन्।

    कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्

    ‘यस्तै उनले भने पछिल्लो दिनमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रूपमा बढेको छैन। यो चिन्ताको विषय हो। हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ’, उनले भने।

    कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत उनले निर्देशन दिए।

    ‘बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ। तर, हामी यसैमा रमाएर बस्ने होइन। अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रूपमा अगाडि बढ्नुपर्छ’, अर्थमन्त्री पौडेलले भने।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताए। यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उनको स्वीकार थियो।

    गभर्नर अधिकारीले भने, ‘गत वर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ। आयात–निर्यात बढ्न थालेको छ। पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरूको आयात बढेको छ। यसकारण हामी निरुत्साहित हुनुहुँदैन। हाम्रा सकारात्मक पक्ष धेरै छन्।

    बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको गभर्नरको भनाइ थियो।

    ‘अर्थतन्त्र लामो समय शिथिल भएका कारण र पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ। यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ’, उनले सुनाए।

    बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे।

    आधुनिक बैंकिङ सुविधा, संस्थापन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान पुर्‍याएको पुडासैनीको भनाइ थियो।