काठमाडौं– खो खो विश्वकपअन्तर्गत आज शुक्रबार नेपालका पुरूष र महिला दुवै टोलीले क्वाटरफाइनलमा खेल्दै छन्। भारतमा जारी खो खो विश्वकपअन्तर्गत आज शुक्रबार हुने खेलमा महिलातर्फको क्वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने छ भने पुरूषतर्फको क्वाटरफाइनलमा बंगलादेशसँग खेल्ने छ।
नेपाल र इरानको महिला टोलीबीचको क्वाटरफाइनल खेल अपरान्ह पौने ५ बजे सुरू हुनेछ। विजेताले युगाण्डा र न्युजिल्याण्डबीचको विजेतासँग सेमिफाइनल खेल्ने छन्।
त्यसैगरी नेपाल र बंगलादेशको पुरूष टोलीबीचको क्वाटरफाइनल खेल साँझ ६ बजे सुरू हुनेछ। विजेताले इरान र केन्याबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन्।
नेपालको महिला टोली समूह सी को विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको थियो। आफ्नो समूहमा अपराजित रहेको नेपालले पहिलो खेलमा भुटानलाई, दोस्रो खेलमा जर्मनीलाई, तेस्रो खेलमा श्रीलंकालाई तथा चौथो खेलमा बंगलादेशलाई हराएको थियो।
त्यसैगरी पुरूषतर्फ नेपाल समूह ए को उपविजेताका रूपमा क्वाटरफाइनलमा पुगेको थियो। नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो।