पुराना र पाका नेताहरूले अब विश्राम लिएर देशलाई अघि बढाउन मद्दत गर्नुपर्छ : चन्द्र भण्डारी - Chaitanya News
  • 2026-04-23
  • 08:40:09
  • बिहिबार,बैशाख १०, २०८३
  • पुराना र पाका नेताहरूले अब विश्राम लिएर देशलाई अघि बढाउन मद्दत गर्नुपर्छ : चन्द्र भण्डारी

    पुराना र पाका नेताहरूले अब विश्राम लिएर देशलाई अघि बढाउन मद्दत गर्नुपर्छ : चन्द्र भण्डारी

    गुल्मी – नेपाली कांग्रेसका नेता एवम् गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. चन्द्र भण्डारीले अहिलेको पार्टीका नेताहरूबाट देशको वर्तमान चुनौतीहरूको समाधान हुन नसक्ने बताएका छन। पुराना र पाका नेताहरूले अब विश्राम लिएर देशलाई अघि बढाउन मद्दत गर्नुपर्ने उनको भनाइ थियो।

    आज शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा रहेको वीपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै अबको नेतृत्व युवाको काँधमा आएको बताए। उनले चुनावको बेलामा नेतृत्वको विरोध गर्दा झन् आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफू केही नबोलेको बताए। ‘अब चुनाव सकियो, काठमाण्डौ जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वको विषयमा बोल्ने छु’, उनले भने।

    अहिले चुनावको परिणामलाई लिएर भिन्न–भिन्न आँकलन र अडकलबाजी चलिरहेको भन्दै नेता भण्डारीले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने दाबी गरे। पहिलो काम गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।

    भण्डारीले चुनाव जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै देशलाई केही परिवर्तनकारी काम गर्नका निम्ती मन्त्री बन्ने सोच बनाउनुपर्ने बताए। उहाँले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए।

    उनले गुल्मी जिल्लालाई विकास, निर्माणको हिसाबले नमुना जिल्ला बनाउने गरि आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन। उनले गुल्मीमा विकास, निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो गरे। रेसुङ्गा नगरपालिकामा आज कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उनले विकास, निर्माणको काममा तीव्रता दिन उहाँहरूलाई निर्देशन पनि दिएका थिए।

    कार्यक्रममा गुल्मी क्षेत्र नं १ को प्रदेश सभा ९ख० का सांसद धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्ने जनाएका थिए।