काठमाडौँ– सरकारले व्यावसायिक तथा आर्थिक वातावरण सुधारका लागि करिब अढाई दर्जन कानुनमा गरेको संशोधनलाई निजी क्षेत्रले सकारात्मक भनेको छ।
ऋँज् (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले भेट गरी सरकारले गरेको कानुनी सुधारको प्रशंसा गरेका हुन् ।
यसका साथै आफूहरूले प्रधानमन्त्रीलाई थप कानुनी सुधारको आवश्यकता रहेको विषयमा बताएको परिसंघ अध्यक्ष राजेश अग्रवालले बताए
‘सूचना प्रविधि कम्पनीलाई देश बाहिर लगानी गर्न दिनेदेखि राजस्व चुहावटको ३ करोडसम्मको बिगोमा मुद्दा नचलाउनेसम्मका महत्त्वपूर्ण सुधार सरकारले गरेको छ,’ उनले भने।
राजस्व चुहावट ऐनमा ५० लाखभन्दा बढी बिगो हुने बित्तिकै मुद्दामा जानुपर्ने बाध्यात्मक अवस्थाका कारण राज्य र करदाता दुवैलाई क्षति भइरहेको थियो, त्यसलाई ३ करोड पुर्याउनु महत्त्वपूर्ण भएको उनले बताए।
साथै, कालोबजारी ऐनअनुसार २० प्रतिशतभन्दा बढी नाफा राखे त्यो फौजदारी अपराध भई जेल बस्नुपर्ने विषयलाई सरकारले परिमार्जन गरेको कुरा पनि सकारात्मक भएको उनले बताए।
तर, अझै पनि वन तथा वातावरण, भूमि लगायत क्षेत्रमा कानुनी सुधार आवश्यक रहेको कुरा आफूहरूले भनेको अग्रवालले जानकारी दिए।
निजी क्षेत्रले लामो समयदेखि ५०औँ वर्ष पुराना कानुन परिमार्जन माग गर्दै आएकोमा सरकारले त्यसलाई सम्बोधन गरेको भन्दै आफूहरूले सरकारलाई धन्यवाद दिएको उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले बताए।
सरकारले सुशासन ऐन संशोधन गर्दै सरकारमा पेस भएको फाइलमा सात दिनभित्र कारबाही गर्नुपर्ने विषय पनि सकारात्मक भएको उनले बताए।
सरकारले कानुनमा गरेको संशोधन अनुसार नियमावली र कार्यविधि बनाउने कुरालाई तीव्रता दिनुपर्ने विषय पनि निजी क्षेत्रले उठाएको उनले बताए।
‘यसअघि लगानी सम्मेलन अगाडि पनि विभिन्न कानुनमा परिमार्जन भएको थियो तर नियमावली र कार्यविधि नबन्दा ती कानुन कार्यान्वयनमा समस्या भयो, यसपटक यस्तो नहोस् भन्नेमा सचेत गराएका छौँ,’ परिसंघ अध्यक्ष अग्रवालले भने।
सरकारको मर्यादा क्रममा निजी क्षेत्रका प्रतिनिधि समेट्ने विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रले उठाएको महासंघ अध्यक्ष ढकालले बताए।
‘मर्यादा क्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका पदाधिकारीलाई राख्ने विषयमा सरकार सकारात्मक छ, त्यसमा चाँडै सम्बोधन हुन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ ढकालले भने।