चाडपर्वलक्षित सहुलियत पसल फागुनसम्म सञ्चालन हुने - Chaitanya News
  • 2026-06-30
  • 09:52:23
  • मंगलबार,आषाढ १६, २०८३
  • चाडपर्वलक्षित सहुलियत पसल फागुनसम्म सञ्चालन हुने

    चाडपर्वलक्षित सहुलियत पसल फागुनसम्म सञ्चालन हुने

    काठमाडौँ– सरकारले चाडपर्वलक्षित गरी सञ्चालनमा ल्याएका सहुलियत पसल फागुनसम्म सञ्चालन हुने भएको छ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता अम्बिका पौडेलका अनुसार सुरुवाती चरणमा माघ मसान्तसम्म सञ्चालन गरिने भनिएता पनि एक महिना लम्बिने भएको छ ।

    साथै कम्पनीले असार मसान्तसम्म चिनी सहुलियत मूल्यमा बिक्री गर्ने उनको भनाइ छ।

    सहुलियत पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन, जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा विशेष छुटमा बिक्री गरिरहेको छ।

    उक्त खाद्यान्नहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था रहेको छ।

    कम्पनीले स्टिम जिरा मसिनो, बासमती, आरुवा सोना, आरुवा मोटा, कालानुनीया, ब्राउन, साँवा स्टिम आरुवा रञ्जित, फोर्टीफाइड, लङ्ग्रेन यी सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ।

    यस्तै कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, कर्णालीको सिमी, उवा, तितेफापरमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ।

    चना, रहर, मसिनो मुसुरो, क्वाँटी, ठुलो मुसुरो मासको दाल र रहरको दालमा प्रतिकिलो ५ रुपैयाँ, गहुँको पिठो, चिउरा, गहुँ र चिनीमा ५ रुपैयाँ छुट छ।

    त्यसैगरी भटमास, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर ७ रुपैयाँ, डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट दिइएको छ।