काठमाडौँ– हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने भक्तपुर हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधवनारायण मेलाको व्रत सुरु भएको छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु हुन्छ।
साँखुको शालिनदीमाभन्दा पहिलादेखि यस मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको स्थानीयको भनाइ छ। माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ। ने.सं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ।
त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले हनुमानघाटमा व्रत बस्ने र स्नान गर्ने आउने गरेका छन्। व्रर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागिता जनाउने परम्परा छ।
व्रर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरूको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ।