काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन विवरण मूल्याङ्कन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन्। घिसिङले गत आर्थिक वर्ष २०८०–८१ मा गरेको कार्यसम्पादन विवरण मूल्याङ्कन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका हुन्।
कार्यकारी निर्देशक घिसिङले ९८.९९ प्रतिशत अङ्क दाबी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण पेस गरेका हुन्।
मन्त्रिपरिषद्को २०७८ साउन २५ निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो। मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबिच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको थियो।
ऊर्जा मन्त्रालयबाट आव २०७८–७९ र २०७९–८० मा गरेको कार्यकारी निर्देशक घिसिङको कार्यसम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अङ्क प्राप्त भएको थियो। कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा प्रोत्साहन भत्ता पाउने व्यवस्था छ।
प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। आव २०७२–७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण २०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो। त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।
प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झारेको छ। ८ वर्ष अघिसम्म प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो। आव २०७९.८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो।
प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठुलो सफलता हात पारेको छ। आव २०७२.७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो। तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ।
गत आवको वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको थियो। गत आवमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ।