शिक्षकलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्यमा शिक्षा मन्त्रालय - Chaitanya News
  • 2026-05-03
  • 23:35:06
  • आइतबार,बैशाख २०, २०८३
  • शिक्षकलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्यमा शिक्षा मन्त्रालय

    शिक्षकलाई उपचार खर्चमा छुट दिलाउने गृहकार्यमा शिक्षा मन्त्रालय

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई उपचार खर्चमा छुट दिलाउने भएके छ। निजामती कर्मचारीहरूले उपचार खर्चमा छुट पाउँदै आएका छन्। तर, शिक्षकहरू भने त्यो सुविधाबाट वञ्चित छन्।

    शिक्षा मन्त्रालयले निजामती कर्मचारी सरह शिक्षकहरूलाई समेत स्वास्थ्य उपचारमा छुट दिलाउने गरी गृहकार्य अघि बढाएको हो।

    त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राय सुझावका लागि फाइल पेस गरिएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन्। करिब एक महिना अघि शिक्षा मन्त्रालयले राय सुझावसहितको मागका लागि पत्राचार गरेको थियो।

    ‘शिक्षकहरूलाई उपचारमा छुट दिनुपर्छ भनेका छौँ। जसरी निजामती कर्मचारीलाई उपचारमा छुट दिइन्छ, त्यसरी नै शिक्षकहरूलाई छुट दिनुपर्छ भनेका थियौँ। स्वास्थ्य मन्त्रालयले त्यही आधारमा राय दिने भनेका छन्। स्वास्थ्य मन्त्रालयको राय आएपछि त्यही अनुसार अर्थ मन्त्रालयमा पठाउँछौँ। यो प्रक्रिया पनि अगाडि बढाउँछौँ,’ शिक्षामन्त्री भट्टराईले भनिन्।

    स्वास्थ्य मन्त्रालयले सोही आधारमा सुझाव दिने आश्वासन दिएको छ। स्वास्थ्य मन्त्रालयबाट आएको राय सुझावका आधारमा शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गर्नेछ। अर्थ मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्था भएपछि शिक्षकहरूले समेत निजामती कर्मचारी सरह उपचार खर्चमा छुट पाउने शिक्षामन्त्री भट्टराईले बताइन्।