राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव - Chaitanya News
  • 2026-06-06
  • 18:27:34
  • शनिबार,जेठ २३, २०८३
  • राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव

    राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव

    काठमाडौँ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव रहेको बताएका छन् ।आज (बुधबार)को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव रहेको बताएका हुन् ।

    मन्त्री चौधरीले आवश्यक इन्जिनियर नहुँदा पनि गौरवका योजनाहरू अघि बढ्न नसकेको उल्लेख गरे। उनले पछिल्लो समय क्रिकेटमा बढेको लोकप्रियताले खेलेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भएको बताए। उनले खेलकुदलाई अब आर्थिक आर्जन र खेल पर्यटनसँग जोड्नुपर्ने बताए। सरकारले अहिले पूर्वाधार अघि बढाउने प्रयास गरिरहेको र श्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइएको उनले बताए।

    उनले भने, ‘नेपाल सरकारसँग आयोजना बनाउने मान्छेहरू पनि कम छ एउटा, यसमा ठुलो लागत हुने बित्तिकै विदेशबाट कम्पनीहरू पनि आउने चलन छ। नेपालमा अलिकति कम नै काम गर्ने मान्छेहरू देखिन्छ। त्यही पनि नेपाली ठेकेदारहरू पनि केही स्टेन्थहरु भइरहेको छ। अर्को हाम्रो समस्या भनेको हामीसँग खेलकुद मन्त्रालयअन्तर्गत प्रशस्त इन्जिनियरहरू छैनन्। राष्ट्रिय खेलकुद परिषद्मा पनि धेरै इन्जिनियरहरू छैन। करारमा लिएर सञ्चालन गर्ने हो। इन्जिनियरहरूको ठुलो अभाव छ। यसको सबैभन्दा ठुलो चुनौती भनेको राष्ट्रिय गौरवका योजनाको हो।

    मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा जम्मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट रहेको र यो पर्याप्त नभएको बताए। मन्त्रालयलाई प्राप्त बजेटबाट एक अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च रहेको बताए। त्यसमा ५० करोड रुपैयाँ एउटै मुलपानीमा र ६० करोड रुपैयाँ १० औँ खेलकुदका लागि छुट्याएको बताए। बाँकी २० करोड रुपैयाँ कीर्तिपुर रंगशालाका लागि छुट्याइएको बताए। त्यसमध्येको ठुलो योजना कीर्तिपुर क्रिकेट मैदान श्रोत सुनिश्चितता नहुँदा अर्थ मन्त्रालयमा एक हप्तादेखि अड्किएर बसेको उनले जानकारी दिए।

    मन्त्री चौधरीले काठमाडौँभित्र थप एउटा फुटबल रंगशाला, क्रिकेट रंगशाला र भलिबल कभर्ड हल आवश्यक रहेको बताए। उनले फुटबल मैदानका लागि काठमाडौँभित्र जग्गा हेर्न थालेको दुई महिना भइसक्दा पनि पाउन नसकेको उल्लेख गरे। उनले खेलकुदका लागि नीतिहरू बाधक बन्दा मित्र राष्ट्रहरूले सहयोग गर्छु भनेको रकम पनि ल्याउन नसकिरहेको बताए।

    मन्त्री चौधरीले सबै रंगशालाहरु व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि २५ अर्ब रुपैयाँ आगामी वर्षको बजेटमा आवश्यक पर्ने बताए। आर्थिक र पर्यटनकीय दृष्टिकोणबाट खेलकुद मन्त्रालयलाई अघि बढाउनुपर्ने उनले बताए।