काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि विकास गर्न चीनको सहयोग आवश्यक भएको बताएका छन् । हिजो (मंगलबार) फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज (फाउन्टेन्स)ले काठमाडौँमा आयोजना गरेको ‘बीआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निमित्त अवसरहरूको खोजी’ नामक संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए।
यस्तै मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र त्यसका लागि चीन सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गरे।
‘कृषिलाई आधुनिकीकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा बदल्ने, पूर्वाधारको विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई साकार पार्ने लक्ष्य राखेका छौँ,’ अधिकारीले बताए।
चीन र नेपाल सरकारबीच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रको समझदारी–पत्रमा सन् २०२३ मा हस्ताक्षर भएको थियो । त्यस्तै, नेपालबाट औषधिजन्य वनस्पति निर्यात गर्न फाइटोसेनिटरी प्रोटोकलमा पनि हस्ताक्षर भएको छ।
त्यस्तै, नेपालबाट सुन्तला जातका फलफूल निर्यात गर्न फाइटोसेनिटरी प्रोटोकलमा नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच ३० अक्टोबर २०१९ मा हस्ताक्षर भएको थियो। नेपालबाट चीनमा हाइलेज निर्यातको लागि सुरक्षा र स्वास्थ्य अवस्थासम्बन्धी प्रोटोकलमा दुई सरकारबीच हस्ताक्षर भएको छ र निर्यातको सुरुवात पनि भएको छ।