काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी भएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले संघीय ढाँचाको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड समेत दिएका छन्।
पौडेलले मुलुक संघीय संरचनामा गइसकेपछि सोही अनुसारको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
उनले राजस्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुँदै आएकोमा अब भने उक्त माध्यमबाट मात्रै वित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गरे।
सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि समेत राज्यले आफैले स्रोत व्यवस्थापन गर्न नसकेको उनले बताए। मन्त्री पौडेलले राष्ट्रिय आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने भनिए पनि वास्तविक रूपमा त्यस्तो हुन नसकेको विषयमा समीक्षा जरुरी रहेको धारणा राखे। खर्च व्यवस्थापनमा निकै कमजोर देखिएको भन्दै उनले यसका कारण वित्तीय प्रणालीमा समस्या आउन सक्ने उल्लेख गरे।
त्यस्तै मन्त्री पौडेलले बेरुजुको अवस्था वृद्धि गर्दै गएको अवस्थामा यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्नुपर्ने बताए।