काठमाडौँ– गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन्।
आज (आइतबार) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
यस्तै उनले डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद् क्षतिको मूल्यांकन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनः निर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको ुसमेत बताए।
विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनः निर्माणका लागि आवश्यक कानूनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ। सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौँ। आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्यांकन सुरु हुनेछ”, उनले भने।
उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ। गृहमन्त्री लेखकका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दैछ। आजको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनः निर्माणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ।