भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा - Chaitanya News
  • 2026-06-06
  • 18:25:20
  • शनिबार,जेठ २३, २०८३
  • भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा

    भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा

    काठमाडौं– भारतविरुद्ध श्रृंखला जितसहित अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा जित निकाल्दै श्रृंखला ३–१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक पुगेको हो।

    भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३–१ ले कब्जा गर्‍यो। अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित ३४ तथा बेउ वेबस्टरले अविजित ३९ रन बनाए। उसमान ख्वाजाले ४१ रन बनाए। भारतका प्रसिध कृष्णाले तीन तथा मोहमद सिराजले एक विकेट लिए।

    त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो। भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए। अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए। पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०(विकेट फिगर पनि हासिल गरे।

    भारतले अन्तिम टेस्टमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनमै १८५ रनमा अलआउट भएको थियो। जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रतासहित १५७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो।

    पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो।

    टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ। दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनल खेल्ने छ।

    वर्ल्ड टेस्ट च्याम्पियनसीप २०२३–२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आगामी जुन महिनामा हुँदै छ। सन् २०१९ देखि सुरू भएको टेस्ट च्याम्पयनसीपमा हालसम्मका दुई संस्करणमध्ये न्युजिल्याण्ड र अस्ट्रेलियाले एक(एकपल्ट जितेका छन्।