काठमाडौं– सहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने बताए।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमा उनले सरकार निर्माण गर्ने विषयमा दलहरूबीच छलफल सुरु भइसकेको भन्दै पाँच दलीय गठबन्धनको सरकारको मन्त्रीहरु पनि सल्लाहमै टुंगो लगाउनुपर्ने बताए।
मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरूको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे। त्यस्तै उनले अहिलेको निर्वाचनमा आफ्नो पार्टीको सन्तोषजनक परिणाम नआएको जिकिर गरे।
मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्वासी समस्या हल गरिने दावी गरे। थापाथलीको सवालमा सुकुम्वासी वस्ती भनिएको ठाउँमा ठूला भवन बनाइएका र स्टल बनाएर भाडा असुल्ने काम भएको उनले बताए।
मन्त्री चौधरीले सबै सुकुम्वासीको पहिचान गर्ने र उनीहरूको घर नबन्दासम्म उनीहरूका लागि उचित बसोबासको व्यवस्थापन गर्ने जानकारी दिए।