गृहमन्त्री लेखकले भने: शासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ - Chaitanya News
  • 2026-06-30
  • 07:29:15
  • मंगलबार,आषाढ १६, २०८३
  • गृहमन्त्री लेखकले भने: शासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ

    गृहमन्त्री लेखकले भने: शासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले शासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताएका छन् । मन्त्री लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको समेत बताए।

    चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज यहाँ शुभारम्भ गर्दै उनले सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भने।

    गृहमन्त्री लेखकले भने“ चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने काम हो। यसका लागि संघीय सरकारले सहयोग गर्नेछ। ”

    चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्ट सिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यस कार्यलाई जिपिएसरजिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले डिजिटल घर नम्बर तथा सडक चोकको नामकरण सहितको प्लेट जडान गर्नु एउटा कामको सुरुआत मात्र हो, वास्तविक कार्य अब सुरुआत हुने छ भने। उनले भने “यसैका आधारमा नगरपालिकाका सबै सेवालाई क्रमशः एकीकृत गरी सेवा प्रवाह हुने प्रयास गरिने छ। ”

    कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यलाई जिपिएसरजिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’मा रूपान्तरण गर्ने कार्यमा साथ र सहयोग पुर्‍याउन नगरवासीसँग आग्रह गरे। रासस