होटेल तथा रेस्टुरेन्टका कर्मचारीको सुविधामा वार्षिक साढे २० अर्ब बढी खर्च - Chaitanya News
  • 2026-06-30
  • 07:29:54
  • मंगलबार,आषाढ १६, २०८३
  • होटेल तथा रेस्टुरेन्टका कर्मचारीको सुविधामा वार्षिक साढे २० अर्ब बढी खर्च

    होटेल तथा रेस्टुरेन्टका कर्मचारीको सुविधामा वार्षिक साढे २० अर्ब बढी खर्च

    काठमाडौँ– होटेल तथा रेस्टुरेन्टका कर्मचारीको सुविधामा वार्षिक साढे २० अर्ब भन्दा बढी खर्च देखिएको छ ।

    नेपालमा सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानका होटेल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा रु.२० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ।

    राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या १ लाख ४२ हजार दुई सय २३ छ।

    सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटेल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ। त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा २० हजार एक सय ५८ र सुदूरपश्चिममा आठ हजार दुई सय २८ छ।

    अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको छ। यो होटेल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको सङ्ख्या हो।

    यो क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको सङ्ख्या एक लाख ६ हजार चार सय ५९ छ।