वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : महामन्त्री थापा - Chaitanya News
  • 2026-04-23
  • 08:13:50
  • बिहिबार,बैशाख १०, २०८३
  • वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : महामन्त्री थापा

    वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन :  महामन्त्री थापा

    काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आर्थिक गतिविधि चलायमान बनाउन र रोजगारी सिर्जनामा हुनुपर्ने प्रतिस्पर्धा वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको उनको भनाइ रहेको थियो ।

    उनले भने ‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ । प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु, कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौं’ ।

    केन्द्र सरकारको सिको गर्दैै अहिले स्थानीय सरकारमा पनि बजेट वितरणमुखी बनाउन प्रतिस्पर्धा भइरहेको थापाले टिप्पणी गरे ।महामन्त्री थापाले अब सरकारको नेतृत्व गर्ने व्यक्तिले आगामी ५ महिनाभित्रमा अर्थतन्त्रलाई सुदृढ बनाउन के गर्ने भन्ने बारेमा खाका तयार गर्नुपर्ने धारणा राखे ।

    महामन्त्री थापाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अब बन्ने प्रधानमन्त्रीले आँट गरेर निजी क्षेत्र र सरकारबीचको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । निजी क्षेत्र र सरकारबीच कसरी सहकार्य गर्ने भन्नेबारेमा खुला छलफल हुनु जरुरी रहेको उनले औल्याए ।