मन्त्री दाहालले भने: सडक तथा संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ - Chaitanya News
  • 2026-06-30
  • 06:31:23
  • मंगलबार,आषाढ १६, २०८३
  • मन्त्री दाहालले भने: सडक तथा संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ

    मन्त्री दाहालले भने: सडक तथा संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।

    आज ( सोमबार) सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा बोर्डमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्ु ।

    यस्तै उनले भने अब बन्ने संरचनाले देशको समृद्धि यात्रामा कति महत्त्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी छ। नेपाल अझै पनि निर्माणकै चरणमा रहेको भन्दै उनले अब बन्ने संरचनालाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।

    जनजीविका, राजस्व संकलन , आर्थिक क्रियाकलाप तथा बृहत् जनसंख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्‍याउने योजनामा मन्त्रालयले प्राथमिकता दिएको उनको दाबी छ।

    मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए। कार्यक्रममा मन्त्री दाहालले सडक बोर्ड अन्तर्गत रहेका रुग्ण ठेक्काहरूको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिए। सडक मर्मतसँगै अनुगमन समेत प्रभावकारी बनाउन उनले निर्देशन दिए।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्ने गरी सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए।

    पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।

    बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका थिए।