काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा किसानको पहुँच बढाउन आवश्यक रहेको बताएका छन्। आज (शुक्रबार) नेपाल बीउ व्यवसायी संघको २६औँ साधारण सभा तथा अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए।
मन्त्री अधिकारीले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्याउन आवश्यक रहेको बताए।
मन्त्री अधिकारीले आमनागरिकको घरखेतसम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य संकट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप संवेदनशील हुनुपर्ने बताए।
उचित समयमा उपलब्ध हुने गुणस्तरीय बीउ बिजनले कृषि उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापी स्थापित रहेको उनले उल्लेख गरे।
मन्त्री अधिकारीले बीउ बिजनका कारण किसानको आर्थिक हानि हुने अवस्थामा किसानलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुनेसमेत उल्लेख गरे।
मन्त्री अधिकारीले गुणस्तरीय बीउ बिजनमा किसानको पहुँच बढाउन सरकारले कानुनी, संरचनागत तथा संस्थागत प्रबन्ध विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्था निजी क्षेत्रमैत्री रहेको बताए।