काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नु पर्ने बताएका छन्। आज (मंगलबार) ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने समेत बताए।
उनले संविधान कार्यान्वयन गर्ने क्रममा आउने अप्ठ्याराहरूको विकल्प भने खोज्न सकिने बताए। केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस भएको उनले बताए।
संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौँ। यो अलि गम्भीर विषय हो। पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्ने कुरामा गम्भीर बन्न सकौँ। तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो। भएका विषय कार्यान्वयन नगरीकन अन्त भड्किन थाल्यौँ भने राम्रो हुँदैन,’ उनले भने।
अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरूको रक्षा गर्न जरुरी रहेको भन्दै ती उपलब्धिहरूको सम्प्रेषण राम्रोसँग नहुँदा समस्या पैदा भइरहेको उनको तर्क थियो।