काठमाडौं– त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोह नेपाल प्रिमियर लिग (एनपीएल) सकिएको छ । गत १६ मंसिरमा सुरु भएको खेल हिजो (शनिबार) उपाधि भिडन्तसँगै सकिएको हो। एनपीएलमा सहभागी आठ टिममध्ये जनकपुर बोल्ट्सले फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन्।
जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारे। उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन्।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने। उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन्। एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए। उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन्। उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन्।
इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए। उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन्।
अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ।
एनपीएलको फाइनल खेलमा कहाँ चुक्यो सुदूरपश्चिम ?
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जित्यो । फाइनलमा सुदूरपश्चिम रोयल्सको चूनौति पन्छाउँदै जनकपुर एनपीएलको ऐतिहासिक विजेता बन्यो।
हाइ स्कोरिङ खेलमा जनकपुरले सुदूरपश्चिमसँगको पछिल्लो दुई भेटको नतिजा उल्टाउँदै जित हासिल गर्यो जसमा कमजोर देखिएको ब्याटिङमा सुधार गरेको देख्न सकिन्थ्यो।
![]()
खेलमा टस जितेर पहिले सुदूरपश्चिमले ब्याटिङ गर्दै १८४ रनको योगफल तयार गरेको थियो। उक्त योगफल यस प्रतियोगितामा बनेको उच्चमध्येकै योगफल हो। धेरेजसो खेलमा मध्यम योगफलसहित केही लो स्कोरिङ खेलहरू भएपनि फाइनल जुन पिचमा खेलाइएको थियो त्यसअनुसार यति रन बन्ने खालकै पिच थियो।
फ्ल्याट पिचमा रन धेरै बन्न सक्ने अनुमानका बीच सुदूरले १८४ रन बनायो तर पनि प्रतियोगिताभर उत्कृष्ट फर्ममा देखिएको भएपनि उपाधि भिडन्तमा कहाँ चुक्यो त ?
![]()
फिनिसिङमा फितलो:
सबैभन्दा पहिलो कुरा भनेको सुदूरपश्चिमको फिनिसिङमा केही कमी देखियो। ओपनरद्वय विनोद भण्डारी र सेफ जैबले शानदार सुरूवात दिलाएपछि १० ओभरमा कुनैपनि विकेट नगुमाई ९७ रन बनाएको सुदूरपश्चिम पहिलो विकेट खस्नुअगाडि १२औं ओभरमा ११७.० को अवस्थामा थियो।
विनोद र सेफ जैब आउट भएपछि आएका ब्रान्डन माकमुलेन र हर्मीत सिंह समान १४ रन बनाएर आउट भए। त्यसपछि स्कट कुग्लेइनले १३ बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरले २०० सम्मको स्कोर बनाउने तरिकाले सुरूवातदेखि खेलेर १५ ओभरसम्म १४३.३ को बलियो अवस्थामा रहेको भएपनि अन्तिम ५ ओभरमा ४१ रन मात्र बनाउन सक्यो। ठुलो शट खेल्ने धुनमा सबैजसो ब्याटरहरू क्याचआउट भइरहेका थिए।
खेलपछि प्रशिक्षक जगत टमाटाले पनि अलिकति रन कम भएको बताएका थिए। ‘हामी १० रन जति अलि शर्ट भयौं कि जस्तो लाग्यो, हामीले राम्रो खेलेको हो तर जनकपुरले हामीभन्दा पनि राम्रो खेल्यो’ उनको भनाइ थियो। ‘लास्टको ५ ओभरमा हामीसँग विकेट पनि बाँकी थियो। १०.१५ रन जति थप्न सकेको भए केही हुन्थ्यो होला’ उनले भने।
कप्तान दिपेन्द्रले पनि आफूहरूको बलिङ राम्रो हुँदाहुँदै अलिकति कम रन बनाएकाले जित सम्भव नभएको बताए। उनले लाहिरु मिलान्था र आसिफ शेखको ओपनिङको पनि तारिफ गरेका थिए।
पावरप्लेमा दुई मेडन व्यहोर्नु:
सुदूरपश्चिमले पावरप्लेमा कुनैपनि विकेट नगुमाई ४८ रन बनाएको थियो। सुरूवात राम्रो गर्दै गर्दा सुदूरले पावरप्लेमै दुईवटा मेडन भने व्यहोरेको थियो। ललित राजवंशीको चौथो तथा हर्श थाकरको पाँचौं ओभर मेडन हुँदाहुँदै सुदूरले बाँकी ४ ओभर गरेर ४८ रन जोडेको थियो।
त्यो दुईवटा मेडन व्यहोर्नु पनि सुदूरका लागि घातक साबित भयो। पावरप्ले आफैंमा महत्वपूर्ण फेज मानिन्छ । त्यसमा दुईवटा ओभरमा रन नै नजोड्नु भनेको दुर्लभ हुन्छ टी–२० खेलमा। खेलका क्रममा मेडनमा आउने रन अन्य ओभरबाट कभर भएको देखिएपनि खेलको नतिजामा पनि त्यसले प्रत्यक्ष असर पुर्यायो।
खेलपछि प्रशिक्षक टमाटाले पनि सोही कुरा उल्लेख गरेका थिए। ‘पावरप्लेको ओभर भनेको यसैपनि महत्वपूर्ण नै हो। त्यहाँ दुई मेडन भनेको धेरै ठुलो हो। अलिकति रन बनाउन सकिन्थ्यो होला। पछाडिको ओभरमा पनि १०.१५ रन शर्ट भयौं’ उनले भने।
क्याच मिस र एक्स्ट्राज:
भनिन्छ क्रिकेटमा क्याच मिस हुनु भनेको म्याच मिस हुनु हो। सुदूरपश्चिमको बलियो पक्ष फिल्डिङ पनि हो। तर फाइनल खेलमा सुदूरले दुई महत्वपूर्ण क्याच छाड्यो त्योपनि सेट ब्याटरहरू लाहिरु मिलान्था र हर्श थाकरको।
जनकपुर ११६.१ को अवस्थामा हुँदा कप्तान दिपेन्द्र १२औं ओभर बलिङ गर्न आए। ६५ रनमा खेलिरहेका मिलान्थाले रूम बनाएर खेल्न खोजेका थिए तर बल टर्न भएर ब्याटको टप एज लागेर माथि गएको थियो। उक्त बल समात्न कप्तान दिपेन्द्र आफैं गए। तर उनको हातमा लागेर बल छुट्यो।
नेपालको उत्कृष्ट फिल्डरमध्येका एक दिपेन्द्रले करियरमा त्योभन्दा धेरै उत्कृष्ट क्याचहरू लिएका छन्। उक्त क्याचका लागि बल गइरहेकै दिशामा आफैं कुदेका दिपेन्द्रले जज गर्न सकेनन् र छुट्यो। यद्यपी उक्त क्याच लिनका लागि लङ्गअफबाट र मिडअफबाट पनि फिल्डरहरू आएका थिए। जसका लागि अलि सहज हुन सक्थ्यो।
त्यसपछि जनकपुर १३७.२ मा हुँदा हर्मितको बलिङमा लङ्गअनमा शट खेलेका थाकरको क्याच माकमुलेनले छाडे। उक्त बल उनको हातमा लागेर छक्काका लागि गएको थियो। यी दुई क्याचले खेलको मोमेन्टम परिवर्तन गर्दै सुदूरलाई खेलमा फर्काउन सक्थ्यो।
त्यसैगरी एक्स्ट्रा पनि केही बढी खर्चिएको थियो सुदूरले। पेसरले लाइन बिगार्दा डाउन द लेग गएको बल किपरले समेत भेट्न नसक्दा चौकाका लागि गइरहेका थिए।
पावरप्लेमा बढी रन खर्चँदा विकेट लिन नसक्नु:
सुदूरले हालसम्म खेलेका हरेक खेलमा पावरप्लेमा विकेट लिँदै आएको थियो। आजको फाइनल खेलमा सुदूरले पावरप्लेमा ७१ रन व्यहोर्दा कुनैपनि विकेट निकाल्न सकेको थिएन।
विशेषगरी ओपनरहरूले चार्ज लिइरहँदा कुनैपनि बलरले दबाब सिर्जना गर्ने खालको प्रदर्शन गरेनन्। चार बलरहरू प्रयोग गरेपनि पावरप्लेमा विकेट निकाल्न नसक्दा र रन रोक्न नसक्नु नै सुदूरका लागि दबाब सिर्जना गरिरहेको थियो।
पावरप्लेमा १ वा २ विकेट निकाल्न सकेको भए ठुलो स्कोर चेज गर्दा त्यसपछिका ब्याटरहरू क्रिजमा सेट हुन खोज्छन् जसले गर्दा रनगतिमा केही ब्रेक लाग्न सक्थ्यो।नननन
जनकपुरको च्याम्पियन यात्राका पाँच नायक:
जनकपुरको च्याम्पियन यात्रामा ट्यालेन्ट हन्टबाट आएका विशाल सुस्लिङबाहेक सबै खेलाडीले खेल्ने अवसर पाए। त्यसमा ललित राजवंशी, आसिफ शेख, किशोर महतो र शुभ कंसाकारले सबै १० खेल खेले।
जनकपुरलाई च्याम्पियन बनाउन मैदानभित्र र बाहिर खेलाडी प्रशिक्षक म्यानेजमेन्ट सबैको योगदान रह्यो। तर विशेषगरी यो यात्रामा केही यस्ता पात्र थिए जसले जनकपुरलाई च्याम्पियन बनाउन अझ धेरै भूमिका खेले।
पुबुदु दासानायके : रणनीतिकार
मैदानभित्र खेलाडीले खेल्छन्। तर मैदान बाहिर पनि धेरै रणनीति बनाउने गरिन्छ। टिम सेलेक्सनदेखि ट्रेनिङ र प्लेइङ ११ छान्ने सबै खालको काममा प्रशिक्षकको भूमिका हुन्छ। कसलाई कुन जिम्मेवारी दिने कसरी खेलाउने र विपक्षी खेलाडी विरुद्धको रणनीति बारे जानकार गराउने काम प्रशिक्षकको हुन्छ।
![]()
जनकपुरका मुख्य प्रशिक्षक पुबुदु दासानायके त्यसमा सफल भए। नेपाली राष्ट्रिय टिमको दुई पटक प्रशिक्षण सम्हालिसकेका यसअघि पनि नेपालमा आएर फ्रेन्चाइज टिम हेरिसकेका र नेपाली विदेशी सबै खेलाडीबारे जानकार पुबुदलाई रणनीति बनाउन पनि सहज थियो र त्यसमा उनी सफल पनि भए।
ललित राजवंशी : विकेट टेकर
ललित राजवंशी स्पीनर हुन्। उनको काम विपक्षीलाई कम रन दिने अनि विकेट झार्ने हो। जुन काम उनले गरेर देखाए।
![]()
जनकपुरलाई च्याम्पियन बनाउने क्रममा उनी संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने। ललितसँगै सुदूरपश्चिमका स्कट कुगेलेइनले पनि समान १७ विकेट लिएका थिए।
विशेषगरी आवश्यक परेको बेला कप्तानले उनै ललितलाई बल थमाउँछन् र उनी विकेट दिन्छन्। अझ पावरप्लेमै पनि उनले बलिङ गर्दै आएका छन्। एनपीएलमा पनि उनले नयाँ बलका साथ बलिङ गरे। विपक्षीको रन गति रोके अनि टिमलाई चाहिएको बेला विकेट लिए।
उनी जनकपुरको मुख्य विकेटटेकरको रुपमा भए। त्यसैले त उनी बेस्ट बलर नै बने। खासमा च्याम्पियन टिमका सदस्य उनी उत्कृष्ट नेपाली खेलाडी र प्लेअर अफ दि सिरिजकै हकदार पनि थिए। तर सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट नेपाली खेलाडी हुँदा ललित बेस्ट बलर बन्दै मोटरबाइक प्राप्त गरे। खेलपछि जनकपुरका मुख्य प्रशिक्षक पुबुदले पनि आफ्नो लागि ललित नै बेस्ट प्लेअर भएको प्रतिक्रिया दिए।
जिमी नीशम:अलराउण्डर
जिमी नीशमको नाम नसुन्ने को होला क्रिकेट जगतमा। नेपाली क्रिकेट समर्थकहरू पनि उनको प्यान थिए। अझ नेपालमै आएर नीशमले फ्रेन्चाइज क्रिकेट खेलेपछि त उनका समर्थकहरू अझ थपिए होलान्।
![]()
जनकपुरको च्याम्पियन यात्रामा कुनै एक खेलाडीको नाम अगाडि आउँछ भने ति उनै नीशम हुन्। विश्व क्रिकेटमै उत्कृष्ट अलराउण्डर टी२० का लागि सुहाउने खेलाडी अनि विश्वकप खेलिसकका र आईपीएल पनि खेलिसकेका यी नीशमसँग एउटै टिममा खेल्न पाउनु नेपाली खेलाडीको लागि पनि राम्रो हो।
उनले पनि आफ्नो नाम अनुसाको काम गरेर देखाए । जनकपुरको ब्याटिङ जब धर्मराउँथ्यो उनै नीशम आएर सम्हाल्थे अनि जितको आधार तयार गर्थे। पराजित भएको खेलमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो। उनी मिडल अर्डरमा जहाँ पनि ब्याटिङ गर्न सक्षम छन् भने आवश्यक परेको बेला नयाँ बल देखि डेथ ओभरसम्म पनि बलिङ गर्ने गर्छन्।
जनकपुरलाई उपाधि दिलाउन उनले अलराउण्ड प्रदर्शन गरे। साथै लिगभर सबैभन्दा राम्रो स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ९ खेलमा एक अर्धशतक सहित २४७ रन बनाउनुका साथै ७ विकेट पनि लिए। अनि इनर्जेटिक प्लेअरको अवार्डसहित नगद २ लाख पनि पाए। उनले एनपीएलको सबैभन्दा छिटो अर्धशतक पनि बनाएका थिए। उनले चितवन राइनोज विरुद्ड्ढ १८ बलमै अर्धशतक बनाएका थिए। जसमा उनले ४ चौका ५ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।
लाहिरु मिलान्था : सर्वाधिक रनकर्ता
लाहिरु मिलान्था। एनपीएलका सर्वाधिक रन बनाउने खेलाडी। अनि जनकपुरलाई च्याम्पियन बनाउन फाइनलका नायक। उनै ८७ रन मदतमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको थियो। पहिलो खेलमै विराटनगरविरूद्ध अविजित ७५ रन बनाएका उनले आवश्यक परेका बेला म्याच विनिङ प्रदर्शन गरे। फाइनलमा पनि अर्धशतक प्रहार गरे। उनले दुई अर्धशतकसहित सर्वाधिक २९३ रन बनाए।
![]()
यसअघि २०२२ मा लुम्बिनी अल स्टार्सलाई नेपाल टी२० लिगको उपाधि जिताउन पनि उत्कृष्ट प्रदर्शन गर्दै उनले ३५३ रन बनाएका थिए। यस पटक पनि उनले त्यो लय कायम राख्दै कीर्तिपुर मैदानमा खेलिसकेको अनुभव देखाए।
अनिल र आसिफ : लिडर
अनिल साह र आसिफ शेख जनकपुर बोल्ट्सका दुई लिडर हुन्। सुरुमा मार्की खेलाडी घोषणा हुँदा आसिफ जनकपुर बोल्ट्सको भागमा परे। अर्थात् आफ्नै क्षेत्रको टिममा परे। अनि यही क्षेत्रका अनिल साह पनि अक्सनबाट जनकपुरकै टिममा अनुबन्ध भए।
राष्ट्रिय टिमका पछिल्ला खेलेमा सँगै ओपनिङ गरेका यो जोडी एनपीएलमा पनि एकै टिममा परे। आसिफ मार्की भएपनि जनकपुरले कप्तान अनिल साहलाई बनायो। आसिफले यसअघि उमेर समूहको टिमको कप्तानी गरेपनि अनिलका लागि कप्तानी पहिलो पटक थियो। जो कप्तान भएपनि दुवैले मैदानमा मिलेर टिमलाई अघि बढाए।
![]()
लिग चरणका ७ खेलसम्म अनिलले कप्तानी गरे। चितवनविरूद्धको अन्तिम खेलमा उनको हातमा चोट लागेपछि उनले प्लेअफका तीनवटै खेल गुमाए। तर टिमको ट्रेनिङ देखि सबैमा उनको संलग्नता थियो। अनि प्लेअफमा फाइनलसहित तीन खेलमा आसिफ शेखले कप्तानी गरे। आसिफकै कप्तानीमा जनकपुरले फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जित्यो।
ट्रफी लिने बेला यी दुई खेलाडी अनिल र आसिफ एकसाथ स्टेजमा गएर ट्रफी ग्रहण गरे। दुवै लिडरको रुपमा देखिए। भलै मैदानमा दुवैले यसपटक धेरै रन बनाउन सकेनन्। आसिफले १० खेलमा १६२ रन बनाए। उनको उच्च स्कोर ३६ थियो। अनिले एक अर्धशतक प्रहार गर्दै ७ खेलमा १३२ रन बनाए। अनिले कर्णाली विरुद्ध बनाएको अविजित ६२ रन नै उच्च स्कोर थियो।