बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गरौँ : भौतिक मन्त्री दाहाल - Chaitanya News
  • 2026-06-30
  • 04:27:02
  • सोमबार,आषाढ १५, २०८३
  • बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गरौँ : भौतिक मन्त्री दाहाल

    बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गरौँ : भौतिक मन्त्री दाहाल

    काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

    आज (शुक्रबार)नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल्लो तहबाटै योजना छनोट गर्नुपर्नेमा जोड समेत दिए।

    उनले माथिल्लो तहबाट आयोजना छनोट गरिने विधिको अन्त्य गर्नुपर्ने पनि बताए। मन्त्री दाहालले चालु आर्थिक वर्षको बजेटमाथि प्रश्न गर्दै यही बजेटले विकास निर्माणका काम गर्न नसक्ने बताए।

    उनले पुलमा मात्रै अघिल्लो सरकारले ६९ लाख बजेट छुट्याएको तर पुलको सख्या ६ सय ५३ रहेको बताए। यो बजेटले पुल बन्न नसक्ने बताए। सरकारले विकास निर्माणमैत्री ऐन बनाउने उनको भनाइ छ।

    योजना आयोगले बनाएको योजना बैंकमा भएका आयोजनालाई सरकारले बेवास्ता गरेको भन्दै अब त्यसमा सुधार गर्न आवश्यक रहेको मन्त्री दाहालको भनाइ छ।

    सरकारले पूर्वाधार निर्माणका आयोजनालाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रका समस्यामा कमी आउने उनले बताए।

    ‘पूर्वाधार निर्माणमा सरकारले योजना आयोगले बनाएको योजना बैंकमार्फत लिएर काम गर्नुपर्ने हो, यसमा सरकारले बेवास्ता गरेको छ,’ उनले भने, ‘त्यसलाई सुधार गर्न आवश्यक छ।

    सरकारले बजेटमा आयोजनाहरू ल्याउँदा प्राथमिकताका आधारमा छनोट हुन जरुरी रहेको र आयोजना छनोट हुँदा आयोजनाले मुलुकलाई प्रतिफल दिनुपर्ने उनले बताए।

    मन्त्री दाहालले मुलुकमा रहेका रुग्ण आयोजनालाई लामो समय राख्न नहुने पक्षमा सरकार रहेको बताए। उनले निर्माण व्यवसायीसँगको सहकार्यमा मन्त्रालयले रुग्ण आयोजनाको विषयलाई टुंगोमा पुर्‍याउने बताए।

    त्यसैगरी निर्माण व्यवसायीको भुक्तानीलाई पनि सरकारले निरन्तर दिइरहेको बताए। निर्माण व्यवसायीको ३ अर्ब भुक्तानी बाँकी रहेको भन्दै सरकारले केही दिनभित्रै चुक्ता गरिसक्ने उल्लेख गरे।

    उनले पूर्वाधार निर्माणका कार्यलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

    नारायणगढ(बुटवल सडक निर्माणको काम सुरु भएको र ठेकेदार कम्पनीले सडक निर्माणको काम अघि बढाउनेमा विश्वस्त रहेको बताए।