चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन्।
आज (शुक्रबार) सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले भने, “मुलुक संघीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन। नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ। यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ। पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उनको भनाइ छ।
सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको उनले बताए।
उनले भने, “यस विषयमा मन्त्रालयमा विषयगत समितिको दोस्रो बैठक बसिसकेको छ। उक्त समितिले पर्यटन क्षेत्रलाई कसरी रूपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ।
मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताए।
नागरिक उड्ययन क्षेत्रमा पनि सेवा प्रदायक निकाय र नियमनकारी निकाय अलग–अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुई वटा विधेयक मन्त्रिपरिषद्मा पुगेको उनले उल्लेख गरे।
उनले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको जानकारी दिए। नेपाल एयरलाइन्सको एउटा मात्रै ट्वीनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्वीनअटर सञ्चालन गर्नेगरी काम भइरहेको उनको भनाइ थियो। रासस