धनगढी– सुदूरपश्चिम प्रदेश सभा लामो समयदेखि बिजनेसविहीन देखिएको छ । गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित भएपछि हालसम्म बैठक बस्न सकेको छैन।
प्रदेश सभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैशीका अनुसार बैठकका लागि ठोस एजेन्डा नहुँदा बैठक बस्न सकेको छैन्।
उनले भने, ‘हालसम्म बिजनेस केही छैन । दुई वटा विधेयक छलफलका लागि विषयगत समितिमा छन्, त्यति मात्रै हो। एउटा स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संशोधन सम्बन्धी विधेयक मात्रै छ।’
तर, हालसम्म बजेट अधिवेशनको अन्त्य समेत गरिएको छैन। हिउँदे अधिवेशन चल्ने समयमा हालसम्म बजेट अधिवेशन नै अन्त्य नगरिएको हो।
दबलप
पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभा केवल सरकार फेरबदलमा मात्रै सीमित देखिएको छ। मुख्यमन्त्रीहरूलाई समर्थन तथा विश्वासको मत दिनेमा सीमित देखिएको हो।
प्रदेश सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभाका कर्मचारीहरू पनि फुर्सदिला तथा कामविहीन देखिएका छन्।
सूचना अधिकारी जैशीले रातोपाटीसँग भने, ‘केही काम छैन। भूमिकाविहीन जस्तै भइयो। बिजनेसको बारेमा सरकारसँग सोध्नुपर्यो।
जनताको आवाज बुलन्द हुने प्रदेश सभा नै कामविहीन बनेपछि जनताका आवाज उठ्न सकेका छैनन्। योसँगै सचिवालयका कर्मचारी फुर्सदिला समेत भएका हुन्।
सदन सञ्चालनको दबाब सिर्जनामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भूमिका पनि कमजोर देखिएको छ। तर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले आफूहरूले निरन्तर सरकारलाई दबाब दिए पनि सुनुवाइ नगरेको बताए।
सरकारले दुई तिहाइको दम्भ देखाएको र सदरप्रति गैरजिम्मेवार बन्दा हालसम्म बजेट अधिवेशन अन्त्य हुन नसकेको बताउँदै उनले बिजनेस पनि दिन नसकेको बताए।
सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले चाँडै नै सदन चल्ने दाबी गरे। बिजनेसको कुरा सरकारको कुरा रहेको बताउँदै उनले अहिले नै हिउँदे अधिवेशन चल्नुपर्ने भन्ने कुनै कानुनी प्रावधान नरहेको जिकिर गरे।