मस्को– रुसको स्वास्थ्य मन्त्रालयले आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी गरेको छ। यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ।
डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका प्रमुख एन्ड्री काप्रिनले भनेका छन् कि खोपलाई सन् २०२५ को सुरुमा लन्च गरिनेछ।
खबरका अनुसार यो खोपबाट क्यान्सर निको हुनेछ। यसले ट्यूमर बन्नबाट भने रोक्ने छैन। खोपको हरेक मात्रा बिरामीका लागि छुट्टा छुट्टै तयार पारिने वैज्ञानिकहरूले भनेका छन्। यो खोप पश्चिमी देशमा बनाइरहेको क्यान्सर विरुद्धको खोप जस्तै भएको बताइएको छ। तर अहिलेसम्म यो खोपले कसरी क्यान्सरको निको पार्छ भनेर चाँहि स्पष्ट बताइएको छैन।
यो खोपको कत्तिको प्रभावकारी हुनेछ वा रुसले यसलाई कसरी लगाउनेछ भन्ने जस्ता जानकारी पनि आएका छैनन्। न त मन्त्रालयले खोपको नाम नै सार्वजनिक गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो देशका वैज्ञानिकहरूले क्यान्सर विरुद्धको खोपमा काम गरिरहेको र उनीहरू अन्तिम चरणमा पुगेको बताएका थिए।