मुलुकमै पहिलो पटक सार्वजनिक–निजी साझेदारी मोडेलमा प्रसारण लाइन निर्माण हुँदै - Chaitanya News
  • 2026-11-17
  • 18:08:11
  • मंगलबार,मंसिर ०२, २०८३
  • मुलुकमै पहिलो पटक सार्वजनिक–निजी साझेदारी मोडेलमा प्रसारण लाइन निर्माण हुँदै

    मुलुकमै पहिलो पटक सार्वजनिक–निजी साझेदारी मोडेलमा प्रसारण लाइन निर्माण हुँदै

    काठमाडौँ– मुलुकमै पहिलो पटक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा प्रसारण लाइन निर्माण हुने भएको छ।

    राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अध्ययन गरिरहेका तयारी आयोजनामध्ये ‘तमोर(ढुंगेसाँघु २२० केभी प्रसारण लाइन’ निर्माण गर्न मंगलबार सम्बन्धित कम्पनीबीच सम्झौता भएको छ।

    राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिबीच प्रसारण लाइन निर्माण सम्झौता भएको हो ।

    ग्रिड कम्पनीका अनुसार ३२ किलोमिटर लम्बाइ र २२० १३२ केभीको सबस्टेसन कार्यक्षेत्र रहेको उक्त आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ बराबर हुनेछ। आयोजना ‘निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण’ (बुट) मोडेलमा निर्माण हुनेछ।

    प्रसारण लाइन निर्माणमा यसअघि सरकारले मात्र लगानी गर्दै आएको थियो। अहिले भने पहिलो पटक निजी क्षेत्र प्रवेश गरेको हो। यो आयोजनामा निजी क्षेत्रका पाँच जलविद्युत् कम्पनीले स्वपूँजी लगानी गर्नेछन्।

    यो प्रसारण लाइन निर्माण गर्न आवश्यक ७० रोपनी जग्गा यसअघि नै अधिग्रहण गरिसकिएको छ। निर्माणअघिका सबै काम पूरा भइसकेको ग्रिड कम्पनीले जनाएको छ। हाल आयोजनाको ७४ प्रतिशत सेयर विद्युत् उत्पादक कम्पनी र बाँकी २६ प्रतिशत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको हुने प्रस्ताव कायम गरिएको छ।

    जसअनुसार रेमिट हाइड्रोलाई १० प्रतिशत, सिम्बुवा रेमिट हाइड्रो ९, क्रिस्टल पावर डेभलपमेन्ट ४२, युनियन हाइड्रोपावर ८ र नेपाल हाइड्रो भेन्चरलाई ५ प्रतिशत तोकिएको छ।

    त्यसैगरी आयोजनाको मुख्य आयस्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज हुने र सोही आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफारनोक्सान सेयरधनीले बेहोर्ने अवधारणा बनाइएको छ।

    आयोजना निर्माण गर्न एचआईडीसीएलले ऋण लगानी गर्ने र यसका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र एचआईडीसीएलबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।