राजस्व संकलन र पुँजीगत खर्चमा सुधार गर्न सफल भएका छौँ : अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-06-30
  • 02:27:58
  • सोमबार,आषाढ १५, २०८३
  • राजस्व संकलन र पुँजीगत खर्चमा सुधार गर्न सफल भएका छौँ : अर्थमन्त्री पौडेल

    राजस्व संकलन र पुँजीगत खर्चमा सुधार गर्न सफल भएका छौँ : अर्थमन्त्री पौडेल

    काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार राजस्व संकलन र पुँजीगत खर्चमा सुधार गर्न सफल भएको बताएका छन् । आज (सोमबार) अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन गरेको प्रयासले अर्थतन्त्रका सूचकहरू ओरालो लाग्ने क्रम रोकिएको बताएका हुन्।

    अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधानको लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक दिशामा फर्किएको बताए। उनले भने, ‘अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई नकारात्मक बन्न नदिई लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ। मूल्यवृद्धिलाई सिमाभित्र राख्न सफल भएका छौँ।

    सरकारले अर्थतन्त्रका समस्यालाई सूक्ष्म ढंगले विश्लेषण गरी समाधानका लागि एक(एक कदमहरू चाल्दै गएको समेत अर्थमन्त्री पौडेलको भनाई छ। उनले अर्थतन्त्रमा देखिएका पछिल्ला सकारात्मक सूचकहरू सरकारको कामको परिमाण भएको समेत दाबी गरे।

    ‘बैंकको ब्याजदर एकल अंकमा आउन सम्भव थिएन,’ उनले थपे, ‘ब्याजदर एकल अंकमा ल्याउनका लागि सरकारले केही काम गरेको छ।

    १७ प्रतिशतले राजश्व बढ्यो
    गत वर्ष आर्थिक वर्षको चार महिनामा ३ प्रतिशत वृद्धि भएको राजश्व संकलन दर चालु आर्थिक वर्षको सोही अवधिमा १७ प्रतिशत पुगेको छ। अर्थतन्त्र सुधार गर्ने पृष्ठभूमिमा धेरै काम भएपछि पुँजीगत खर्चको दायरा समेत बढेको छ। यी सबै वर्तमान सरकारको कामको प्रतिफल भएको उनको भनाई छ।

    उनले सरकारले मुलुकभित्र लगानीको वातावरण बनाउने र बैंकको निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र व्यवसायीहरूको मनोबल उच्चरुपमा बढाउने विषयमा बढी केन्द्रित भएर काम गरिरहेको बताए।

    अर्थमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, उत्पादन,उत्पादकत्व वृद्धि गर्ने र रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा अर्थतन्त्रका सकारात्मक सूचकहरूलाई सदुपयोग गरेर जानु पर्नेमा जोड दिए।