एजेन्सी– साउदी अरबका युवराज मोहम्मद बिन सलमानले रियाद विमानस्थललाई प्रमुख उड्डयन केन्द्रमा परिणत गर्ने घोषणा गरेका छन्। युवराजको घोषणाअनुसार विमानस्थलको स्तरोन्नति भएमा १२ करोड यात्रुले त्यहाँमार्फत यात्रा गर्न सक्नेछन्।
साउदी अरेबियाको सरकारी समाचार संस्था एसपिएका अनुसार, सन् २०३० सम्ममा विमानस्थलको रूपान्तरणको काम पूरा हुनेछ। साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष ९पब्लिक इन्भेस्टमेन्ट फण्ड अर्थात् पिआइएफ० लाई यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी दिइएको छ।
यद्यपि, यो विमानस्थल निर्माणमा लाग्ने खर्चबारे भने केही खुलाइएको छैन। यो विमानस्थल ५७ वर्ग किलोमिटर अर्थात् ५ हजार ७ सय हेक्टर क्षेत्रमा निर्माण हुनेछ। हालको किंग खालिद विमानस्थल पनि यसैमा मर्ज हुनेछ।
सन् २०३० सम्ममा पारवहन र लजिस्टिक हब बन्न उड्डयनलाई त्यहाँको सरकारले प्राथमिकतामा राखेको छ। रियाद एयरपोर्टलाई नयाँ एयरलाइन्स आरआईएको सञ्चालन केन्द्र बनाइने छ।
साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई कम गर्न आफ्नो भिजन २०३० मा अर्बौं, खर्बौं डलर लगानी गरिरहेको छ। जसको सुरुवात राजकुमार मोहम्मदले गरेका हुन्।
एसपिएका अनुसार, रियाद विमानस्थल सन् २०३० सम्ममा विश्वको १० ठूलो अर्थतन्त्रमा समावेश गर्ने रणनीतिसहित सुरु गरिएको योजना हो। जहाँबाट २५० स्थानमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य लिइएको छ।
राजा सलमान विमानस्थलबाट करिब एक लाख तीन हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको दाबी गरिएको छ। सन् २०५० सम्ममा यस विमानस्थलबाट १८ करोड ५० लाख यात्रु र ३५ लाख टन कार्गो प्रशोधन गर्ने लक्ष्य छ।