प्रमुख प्रशासकीय अधिकृत आर्थिक अधिकार र आर्थिक नियम तथा प्रशासनिक कामकाज गर्ने गराउने स्थानीय तह कार्यलयको कार्यलय प्रमुख हुन् । पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरुमा भौगलिक विकटतार सिमित स्रोत साधनका बीच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन् ? त्यहाँका जनताका अपेक्षा के छन् ? साथै अधिकृतसम्मको पढाईको यात्रा कस्तो थियो ? यिनै कुरामा केन्द्रिर रहेर चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासीय अधिकृतसँग संवाद गर्दै आइरहेको छ । आज चैतन्य खबरका लागि निर्मला कडायतले डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शंकर सुचिकारसँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं हाल कार्यरत पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको कति भयो ?
मैले दिपायल सिलगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको २ वर्षभन्दा बढी भयो ।
2. यो अवधिमा यहाँका जनप्रतिनिधिको व्यवहार र यहाँको माहोल कस्तो पाउनु भयो ?
जनप्रतिनिधिको मैले राम्रो साथ र सहयोग पाइरहेको छु । सबै जनप्रतिनिधि र कर्मचारीहरु सकारात्मक हुनुहुन्छ । सबैले समन्वय गरेर विकासका कामहरुलाई पनि अगाडी बढाई रहेका छौं ।
3. पालिकामा कर्मचारीप्रति जनताको कस्तो अपेक्षा पाउनु भएको छ ?
जनअपेक्षाहरु त धेरै नै छन् । विकास योजनादेखि पालिकाले प्रवाह गर्ने सेवामा सहजता होस भन्ने उहाँहरुको चाहाना छ । जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र सेवा प्रवाहका रुपमा उहाँहरुले भोग्नु परेका कठिनाईहरुको समाधान गर्ने हाम्रो भूमिका रहनेछ ।
4. तपाईंले पालिकामा प्रशासकीय कार्यशैलिको कुशल व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
जनताको आवश्यकता हेरेर जनताहरुलाई सेवा दिइरहेका छौं । हामीसँग विभिन्न शाखाहरु छन् । सबै कर्मचारीहरुको जिम्मेवारी छुट्याएका छौं । कर्मचारीहरुलाई समय समयमा क्षमता विकासका तालिमहरु पनि दिईरहेका छौं । शाखामार्फत हुने कामहरुलाई चुस्त पार्न त्यहाँका समस्याहरुको पहिचान हुनेगरि काम गरिरहेका छौं ।
5. कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ ?
कर्मचारीहरु छ जस्तो पनि छैन् । छैन जस्तो पनि छैन्। नेपाल सरकारले कायम गरेको दरबन्दी अनुसार त कर्मचारीहरु छैनन्। तथापि स्थानीय सरकारले विभिन्न शाखालगायत प्रशासनीक क्षेत्रमा काम गर्नका लागि आफ्नो स्रोतबाट पनि करार सेवामा कर्मचारी राखेको हुँदा जनतालाई प्रदान गर्ने सेवालाई सहज तुल्याएका छौं।
6. के भइदिएमा अझै गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ जस्तो लाग्छ यहाँलाई ?
दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति हुन जरुरी छ । दरबन्दी अनुसार कर्मचारी नहुँदा हामीले जनताले चाहे जस्तो सेवा दिन सकिरहेका छैनौं । गुणस्तरीय स्वास्थ्य सेवा र अन्य सेवाहरु जनतासमक्ष छिटो र छरितो लैजानका लागि हामीले जनतालाई आवश्यक पर्ने जनतालाई फाईदा हुने खालका जानकारी मूलक सन्देशहरु क्षकता स्तररसम्म जोड्नु पर्छ । हामीसँग दरबन्दी अनुसार कर्मचारी भइदिएमा स्थानीय तहबाट हुने सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउन सकिन्थ्यो ।
7. अहिले लोकसेवाको आकर्षण बढ्दो छ तयारी गरिरहनु भएका परिक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
लोकसेवा निष्पक्ष छ । सामान्य परिवारका मान्छेले पनि पहुज पुर्याउन सक्ने क्षेत्र भनेकै लोकसेवा हो । यसलाई जति सक्यो आफूले राम्रो काम गर्न सकियो भने आफ्नो पनि स्कोप छ र जनताले हेर्ने दृष्टिकोण पनि राम्रो हुन्छ । एउटा सेवाको सुरक्षा, एउटा वृद्धिको सम्भावना र अर्को आर्थिक रुपमा पनि सामाजिक सुरक्षाका हिसाबले पनि अवकाशपछि पनि ग्यारेन्टी भएकाले युवाहरुका लागि लोकसेवा राम्रो क्षेत्र हो ।
8. कसरी तयारी गर्दा लोकससेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई ?
तयारी गर्ने त सबैको आफ्नो तरीका होला । तर पनि कतिपयले पढाइसँगै कामलाई पनि अगाडी बढाउनु पर्ने हुन्छ । त्यसैले काम भएपनि आफ्नो अध्यनको समय छुट्याउने , विभिन्न सामाजिक सञ्जालबाट आवश्यक सामाग्रहरु छानेर लिने । नोटहरु बनाउने । विभिन्न जर्नलहरुलाई पनि अध्ययन गर्ने । अल्छि नगरेर मेहेनतका साथ पढ्ने । त्यसका लागि काठ्यक्रमलाई आधार बनाउने । परिक्षामा सबै प्रश्नहरु पाठ्याक्रमकै आधार भएर सोधिन्छन् । पढ्ने बेलामा पाठ्यक्रमसँग जोडिएका विषयहरु समसामयिक विषयहरु, दैनिक व्यवहारमा आइपरेका विषयलाई सिद्दान्त र व्यवहारिक द्बै पक्षलाई ध्यानमा राखेर पढ्ने गर्नुभयो भने ढिलो चाडो होला त्यो फरक कुरा हो तर लोकसेवामा सफलता अवश्य मिल्नेछ ।