काठमाडौँ– यो साताको सेयर बजार १.९ प्रतिशतले घटेको छ। गत साता २७३४.९३ अंकमा रहेर बजार बन्द भएको थियो। हिजो बिहीबार २६८२.२९ अंकमा झरेको छ। यसरी साताभरमा बजार १.९ प्रतिशतले ओरालो लाग्यो।
गएको साता समग्रमा बजार ०.५ प्रतिशतले घटेको थियो। सातामा पाँच दिन कारोबार हुँदा एक दिन मात्रै बजार बढ्यो भने चार दिन घटेको छ। यो साता सेयर किन्नेहरू कम देखिए।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेको थियो। सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले बजार घट्न पुग्यो। बुधबार भने ४५.८८ अंकले बजार बढेको थियो। हिजो, बिहीबार पुनः ३३.४२ अंकले घट्न पुग्यो।
यो साता कारोबार रकम पनि लगातार ओरालो लाग्यो। आइतबार ७ अर्ब ३५ करोडको कारोबार भएको थियो। सोमबार ५ अर्ब ५६ करोड, मंगलबार ४ अर्ब ३६ करोड, बुधबार ४ अर्ब ९५ करोडको कारोबार भयो। बिहीबार भने थोरै बढेर ६ अर्ब ८५ लाखको कारोबार भएको छ।
यो साता उत्पादनबाहेक सबै उपसमूहका सूचक घटे। सबैभन्दा धेरै जीवन बिमा उपसमूहको सूचक घटेको छ। यो उपसमूह ५.८८ प्रतिशतले घट्यो भने फाइनान्स ३.२ प्रतिशत, बैंकिङ ०.९० प्रतिशत र हाइड्रोपावर १.९ प्रतिशतले घट्यो।