प्रतिस्पर्धी उम्मेदवारको र सुशान्त श्रेष्ठले बनाएको ‘गुनासो एप’लाई सुविधा थपेर ‘सञ्चालनमा ल्याउने पौडेलको घोषणा - Chaitanya News
  • 2026-04-23
  • 04:10:21
  • बुधबार,बैशाख ०९, २०८३
  • प्रतिस्पर्धी उम्मेदवारको र सुशान्त श्रेष्ठले बनाएको ‘गुनासो एप’लाई सुविधा थपेर ‘सञ्चालनमा ल्याउने पौडेलको घोषणा

    प्रतिस्पर्धी उम्मेदवारको र सुशान्त श्रेष्ठले बनाएको ‘गुनासो एप’लाई सुविधा थपेर ‘सञ्चालनमा ल्याउने पौडेलको घोषणा

    काठमाडौं– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारले निर्वाचनका क्रममा पेश गरेका एजेण्डा र प्रतिबद्धतालाई साझा मुद्दा बनाइने बताएका छन्। सोही अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बनेका स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको ‘गुनासो एप’ लाई सुविधा थपेर सञ्चालन गर्ने पौडेलले घोषणा गरेका छन्।

    ‘प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाउनु भएको गुनासो एप र मैले घोषणा गरेको सांसदसँग डिजिटल कनेक्टिभिटी एपको कन्सेप्ट मिल्दोजुल्दो भएकाले गुनासो एपलाई सुशान्तजी र मेरो सचिवालयले थप सुविधा थपेर संचालनमा ल्याउने निधो पनि गरियो’, पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

    पौडेलले मंसिर ४ मा सम्पन्न निर्वाचनको दौरानमा उम्मेदवारहरुले पेश गरेका प्रतिबद्धता र एजेण्डाहरु निर्वाचन क्षेत्र र राष्ट्र विकासका लागि भएको भन्दै सबैले पेस गरेका एजेण्डाहरुलाई साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्ने आफूहरुको उद्देश्य भएको पौडेलको भनाइ छ। त्यसका लागि आफूले प्रतिस्पर्धी उम्मेदवार छलफल सुरु गरेको पनि पौडेलले जानकारी दिएका छन्।

    ‘साझा प्रयासले मात्रै यी एजेन्डाहरु कार्यान्वयन गर्न सम्भव हुन्छ। तसर्थ सहयात्राको सुरुवात गर्न यस क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुसँग छलफल कार्यक्रम सुरु गरेको छु’, पौडेलको भनाइ छ।

    पौडेल प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका हुन्। काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित २९ उम्मेदवार थिए।