सार्वजनिक बिदाको सङ्ख्या घटाउन सुझाव - Chaitanya News
  • 2026-11-17
  • 18:35:37
  • मंगलबार,मंसिर ०२, २०८३
  • सार्वजनिक बिदाको सङ्ख्या घटाउन सुझाव

    सार्वजनिक बिदाको सङ्ख्या घटाउन सुझाव

    काठमाडौँ– सांसदहरुले सार्वजनिक बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका छन्। आज (बिहीबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका हुन्। सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए।

    सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उनले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताए।

    त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौँ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिए।

    बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए। २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि पर्याप्त छलफल हुने अवस्था नदेखिएको जिकिर गरे।

    समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाइ भएको जवाफ दिए।

    सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशील रहेको उल्लेख गरे।