एनपीएल: सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो - Chaitanya News
  • 2026-06-06
  • 20:06:29
  • शनिबार,जेठ २३, २०८३
  • एनपीएल: सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

    एनपीएल: सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ।

    एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो।

    १९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो।

    पोखराको जितमा रेमोन रेइफर नायक बने। रेइफरले निर्धारित खेलको अन्तितम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए। त्यसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र १ चौका हान्दा पोखराले १८ रन बनाएको थियो । सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्र बनाए।

    लिगमा पाँचौ खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ र प्लेअफ सम्भावना कायम राखेको छ। पाँच खेलमा चौथो हार व्यहोरेको विराटनगरको २ अंक मात्र छ र प्लेअफ होड कठिन बनेको छ।

    त्यसअघि १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।

    पोखराका लागि ओपनर आन्द्रेस गौसले २७ बलमा ७ चौका मदतमा ३६ रन बनाए। कप्तान कुशल भुर्तेलले ३१ रन बनाए। उनले ३४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे।

    बलिङमा विराटनगरका प्रतिश जिसीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। क्रिस सोलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो।

    विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए। उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे।

    बसिर अहमदले २० बल खेल्दै १ छक्का मद्दतमा अविजित २१ रन बनाए।

    पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।