काठमाडौँ– पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको देखिएको बताएका छन्। आज (बुधबार) प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले भने ‘अहिले पनि समस्या खर्च गर्नेमै छ। खर्च गर्ने जहिल्यैको समस्या हो। राजनीतिक परिवर्तनका कारण सिद्धान्त र प्राथमिकता एक जनाले प्रस्तुत गर्नुभो तर बजेट कार्यान्वयन गर्नेमा अर्को मन्त्रीले पर्नुभो,’ पुनले भने, ‘चर्चा गरेभन्दा कम बजेट आएको छ। ठुला आयोजनाको टेन्डर भएको छैन।’ नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको पुनको भनाइ छ।
‘यही गतिमा हिँडेर राजस्व धेरै आउने भन्ने हुँदैन। एकातिर प्राइभेट सेक्टर र राज्य मिलेर अर्थतन्त्रको सुधार गर्न सकिन्छ,’ पुनले भने– ‘लगानी किन भइरहेको छैन भन्दा आन्तरिक र वाह्य लगानी हुन सकेको छैन’ उनले भने।
कृषि उद्योग, पर्यटनलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्ने पुनको भनाई थियो।
‘धितोपत्र बोर्ड र विद्युत् प्राधिकरण लगायत अर्थतन्त्रलाई चलायमान बनाउने निकायमा अहिलेको सरकारसँग टिउनिङ मिल्ने हुनुहुन्छ। तर अपेक्षित लगानी हुन सकेको छैन’ उनले भने।