देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक - Chaitanya News
  • 2026-06-30
  • 00:39:27
  • सोमबार,आषाढ १५, २०८३
  • देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक

    देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक

    सुर्खेत– गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    आज (सोमबार) नेपाली काँग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । यस्तै गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताए। देशमा स्थायी सरकार आवश्यक परेका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको उल्लेख गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु रहेको बताए।

    देशमा विशेष किसिमका समस्या देखा पर्छन् त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ”, गृहमन्त्री लेखकले भने “मूलकमा अस्थिरता, अराजकता हुन थाल्यो। गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुईरदुई महिनामा संसद्मा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो,” उनले भने “सरकार अत्यन्त अस्थिर हुँदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन। विकासका काम सही ढंगले अगाडि बढ्न सकेनन्। शान्ति सुरक्षा तथा विधिको शासनमा प्रतिकुल असर पर्न थाल्यो।

    समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो। सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरिरहेको उनले उल्लेख गरे।

    आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उनको भनाइ छ। गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताए।

    कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, “सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ। यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ।

    कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उनले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाए।