काठमाडौं – राप्रपा नेपालले आम निर्वाचनमा निराशाजनक परिणाम भोग्नुपरेको निष्कर्ष निकालेको छ।
पार्टीको मंगलबार बसेको सचिवालय बैठकले अपेक्षाकृत परिणाम नआए पनि जनताको अभिमतलाई स्वीकार गर्दै प्रजातान्त्रिक मान्यता अनुसार पराजय स्वीकार गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा होमिनुपरेको, संगठन निर्माण हुन नसकेको, संस्थागत रुपमा प्रभावकारी चुनावी अभियान संचालन हुन नसकेकोलगायतका विषयलाई पराजयको कारण ठानेको छ।
निर्वाचनमा देखिएका कमजोरी र भविष्यमा अवलम्बन गर्नुपर्ने नीति र कार्यलाई व्यवस्थित गर्न र निर्वाचनको समीक्षासहित सुझाव सहितको प्रतिवेदन पेश गर्न बैठकले उपाध्यक्ष डा.बिष्णु भण्डारीको संयोजकत्वमा समितिको गठन गरेको छ। समितिमा बसन्त मानसिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मत जंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल र राजाराम बर्तौला सदस्य छन्।