प्रहरीको जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान - Chaitanya News
  • 2026-11-17
  • 19:10:35
  • मंगलबार,मंसिर ०२, २०८३
  • प्रहरीको जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

    प्रहरीको जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ– नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्रीले ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई प्रहरी नायव महानिरीक्षकहरूमा बढुवा गर्ने निर्णय गरेका थिए।

    उनीहरूलाई सोमबार आईजीपी वसन्त कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

    आईजीपी वसन्त कुँवरले नव नियुक्त डीआईजीहरुको पदोन्नतिसँगै जबाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको बताए। दर्ज्यानी चिन्ह सुशोभन समारोहमा उनले भने, ‘राज्य र संगठनले तपाईँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ।’

    समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता गरे।