काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन्।
आज (मंगलबार) नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाइृ सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको बताए।
‘यस्तै उनले सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा एमालेले गरेको हो, नेकपा एमाले नेतृत्वको सरकारले गरेको हो’, उनले भने । समय क्रममा सामाजिक सुरक्षाका दायरालाई विस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको उनले बताए।
त्यसकै आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको पौडेलले स्मरण गराए । राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको पौडेलले बताए।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उनले दाबी गरे । यसले नेपाली मजदुरलाई उत्साहित र भविष्य प्रति आश्वस्त बनाउने काम गरेको उनले बताए।
तथापि यसलाई अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा पौडेलले जोड दिए। केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उनले विश्वास दिलाए। कार्यक्रम जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको थियो।