क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह - Chaitanya News
  • 2026-11-17
  • 20:26:18
  • मंगलबार,मंसिर ०२, २०८३
  • क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह

    क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह

    काठमाडौँ– अर्थ मन्त्रालयले सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्ताहरूमा उत्साह सिर्जना गरेको बताएको छ। आज (शुक्रवार) मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको सङ्केत गरेको जनाएको हो।

    ‘दक्षिण एसियाली मुलुकहरूको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ। यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरूको लागि उत्साह सिर्जना गरेको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    नेपाल सन् २०२६ मा मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नवीनतम एवं वैकल्पिक वित्तका स्रोत परिचालन गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने मन्त्रालयले जनाएको छ।

    नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले र विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावी दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठुला आयोजनाहरूमा लगानी अभिवृद्धि हुने अपेक्षा गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

    ‘नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ’, मन्त्रालयले भनेको छ, ‘यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिन्छ ।’

    पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको भन्दै नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए।

    ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सबल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौँ’, मन्त्री पौडेलको भनाइ छ।